TagaroNews
तिलिचोमा 'वाइफाइ' 
फाइल तस्बिर ।

मनाङ - विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल (४,९१९ मि.) क्षेत्रमा वाइफाइ सुविधा पुगेको छ । तिलिचो अवलोकनमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गर्दै तिलिचो ताल क्षेत्रमा इन्टरनेट जडान गरिएको हो ।

उचाईका कारण पर्यटकमा हुने विभिन्न समस्यालाई सहज बनाउन साथै तिलिचोमा वाइफाइको मजा लिन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गापा–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए । 

उनले भने, ‘तिलिचो भ्रमणमा जाँदा आउँदा लेक लाग्ने, पर्यटक बिरामी पर्ने, हराउने समस्या धेरै छ । यस्को न्यूनीकरण हुन्छ भन्ने सोचका साथ नै इन्टरनेट जडान गरिएको हो ।’ 

पर्यटकले यस क्षेत्रबाटै आफ्ना समस्या तत्काल भन्न सक्ने साथै परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्ने अवस्थालाई सहज बनाएको उनले बताए । 

होटल व्यवसायी कर्म ढेण्डु गुरुङले पर्यटकलाई सहज बनाउन यहाँका पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा इन्टरनेट सेवा सञ्चालन गरिएको बताए । ‘पर्यटकको आवश्यकता र चाहना पूरा गर्ने लक्ष्यअनुसार तिलिचो ताल क्षेत्रमा इन्टरनेट राखिएको छ, उच्च स्थानमा सकस हुन सक्ने भए पनि वाइफाइका माध्यमबाट पर्यटकले सहजरुपमा सम्पर्कमा आउन सक्नेछन’ उनले भने ।

उच्च स्थानमा अवस्थित तिलिचो तालमा पुगेर टिकटक, रिललगायतका सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्ने वातावरण तयार भएको पर्यटन व्यवसायी बताउँछन् ।

पर्यटक आगमनको समय सुरु हुनासाथ इन्टरनेटको पुर्याएर सहज बनाइएको व्यवसायी बताउँछन् । तिलिचो लेकमा पुगेपछि पनि होटल तथा पर्यटन व्यवसायीसँग समन्वय हुने र पर्यटकको स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने व्यवसायी गुरुङले बताए ।  यसले गर्दा पर्यटक बिरामी परेको अवस्थामा समयमा नै उद्धार गर्न सकिने उनको भनाइ छ ।

सिजन सँगै मनाङमा पर्यटक आगमन बढ्दै गएको छ । दैनिक एक सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको तथ्याङ्क छ ।

मनाङ पुगेका पर्यटक धेरै मात्रामा तिलिचो पुग्ने गरेका छन् । अन्नपूर्ण पदमार्गमा विशेष गरी बेलायत, इजरायल, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिक आउने गरेको एक्यापको तथ्याङ्क छ । तिलिचो ताल अवलोकनका लागि पर्यटकहरू निकै उत्साहित हुने गर्छन् । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update