TagaroNews
चितवन सिएमसीमा स्तन क्यान्सरको परीक्षण निःशुल्क, युएसजीमा ३० प्रतिशत छुट
पत्रकार सम्मेलनमा आफना कुरा राख्दै अस्पताल प्रशासन ।

भरतपुर - चितवन मेडिकल कलेज शिक्षण अस्पतालको सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सर परीक्षण निःशुल्क गरिएको छ । अक्टोबर महिनाभरी स्तन क्यान्सर सचेतना महिनाको अवसरमा अस्पतालले ओपिडि टिकट निःशुल्क गराएको हो । 

कलेजले अक्टोबर महिना भरी स्तन क्यान्सर स्क्रिनिङका लागि मेमोग्राम र ब्रेष्ट युएसजीमा ३० प्रतिशत छुट दिईएको अस्पतालले शनिबार गरेको पत्रकार सम्मेलनमा निर्देशक प्रताप देवकोटाले बताए । 

उनले भने, ‘अहिले क्यान्सर इन्सिच्युटमा अत्यधुनिक सेवा सहित सबै प्रकारका उपचार भैरहेको छ, हामीले क्यान्सर सचेतना मन्थको अवसरमा निशुल्क, छुट सुविधा र अन्य उपचारमा सहुलियत र गुणस्तरीय सेवा दिइरहेका छौँ ।’ अस्पतालले स्तन क्यान्सर न्यूनिकरण र रोकथामका लागि विभिन्न सचेतना कार्यक्रम समेत गर्दै आएको उनले बताए । 

यो मात्र नभएर अस्पताले क्यान्सर न्यूनिकरणका लागि चितवनका हरेक विद्यालय, कलेजमा प्रत्येक शुक्रबार सचेतना दिने कार्य गर्दै आएको छ । कक्षा ९ भन्दा माथिका छात्राहरु र विद्यालय, क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई स्तनमा हुने गाँठागुँठी तथा गिर्खाहरुको पहिचान कसरी गर्ने, कसरी आफैले थाहा पाउन सकिन्छ भन्ने विधि सिकाउने गरिएको अस्पताले जनाएको छ ।

स्तनामा गाँठागुँठी भेटिएमा आत्तिहाल्नु नपर्ने र चिकित्सकको परामर्श लिनुपर्ने अस्पतालका अंकोलोजिष्ट डाक्टर सुवास ठाकुरले बताए । उनले भने, ‘स्तनमा हुने सबै गाँठागुँठी क्यान्सर हुँदैनन्, तर गाँठागुँठी देखिए क्यान्सर हो होइन भन्ने यकिन गर्नुपर्छ । त्यसका लागि मेमोग्राम र युएसजी गरेर क्यान्सरको यकिन गर्न सकिन्छ ।’

क्यान्सर इन्स्टिच्यूमा सबैभन्दा बढी मुख, जिब्रो, घाँटी, पाठेघर, ब्रेष्ट र फोक्सोका क्यान्सर भएका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । 

शुरुआती अवस्थामा स्तन क्यान्सर पहिचान गर्न सके निको हुने दर पनि उच्च हुने अस्पतालका कार्यकारी निर्देशक डा.दयाराम लम्सालले बताए । स्तन क्यान्सर महिलामा मात्रै नभएर पुरुषमा पनि हुने भन्दै उनले हरेक एक लाख जनसंख्यामा चार/पाँच जना पुरुषलाई स्तन क्यान्सर हुने गरेको कुरा औल्याए । 

विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना (ब्रेष्ट क्यान्सर अवारनेश मन्थ) रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउंँदै आएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update