
काठमाडौं - नेपाल नागरिक उड्ययन प्राधिकरणले मनाङ एयरका होलिकोप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ ।
मनाङ एयरका होलिकोप्टर लगातार दुर्घटना भएपछि प्राधिकरणले उडानमा प्रतिवन्ध लगाएको हो । जुलाई ११ मा ९एन–एएमडब्ल्यू र आज ९एन–एएनजे कल साइनका हेलिकोप्टर दुर्घटना भएका हुन् ।
मनाङ एयरका हेलिकोप्टरको खराब उडान सुरक्षाका कारण एयर अप्रेटर सर्टिफिकेट निलम्बन गरिएको प्राधिकरणका सह–प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
पाइलट खतरामुक्त
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका पाइलट प्रकाशकुमार सेढाईं खतरामुक्त छन् ।
सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गापाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट सेढाईंको उद्धार गरी काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेढाईं मात्र थिए । आगलागी भएर हेलिकप्टर पूर्ण रुपमा जलेको छ ।
उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धान भैरहेको प्राधिकरणले जनाएको छ ।
दुर्घटनापछि जहाजमा आगलागीको तस्बिर ।