
लमजुङ - दक्षिण कोरियाको फाजु क्षेत्रमा लमजुङका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–५, गहते घर भएका ३५ वर्षीय गमबहादुर गुरुङ रहेका छन् ।
उनको असोज १७ गते बुधबार राति निधन भएको परिवारका एक सदस्यले जानकारी दिए । गुरुङले काम गर्ने ठाउँ फाजुस्थित कम्पनीका अनुसार उनको गत बुधबार राति ६ बजेतिर निधन भएको हो ।
गुरुङ गत साता सम्पन्न लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए ।
कम्पनीमा बेलुकाको नियमित ड्युटी समय सुरु हुनु अगावै उनी बेहोस भएपछि एम्बुलेन्स र प्रहरीलाई खबर गर्दा निधन भैसकेको उनी कार्यरत कम्पनीको भनाई छ ।
गमबहादुर गुरुङको निधनबारे नेपालमा घरपरिवारलाई जानकारी गराइसकेको र परिवारको निर्णय अनुसार शवलाई नेपाल ल्याउने तयारी थालेको लमजुङ परिवार दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाले जानकारी दिए ।
मृतक गुरुङका श्रीमती, एक छोरी, एक भाइ र बुबाआमा गाउँमा नै बस्दै आएका छन् । गमबहादुर गुरुङ ६ वर्षअघि कोरिया गएका थिए ।