
लमजुङ – तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको माग गर्दै लमजुङका स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन् ।
निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीसमेत समेटिनुपर्ने लगायत विभिन्न माग राख्दै लमजुङका ८ स्थानीय तह कर्मचारीले शुक्रबार ‘पेन डाउन’ नै गरेर बिरोध जनाएका छन् ।
उनीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनुपर्ने लगायतका माग राखेका छन् ।
आन्दोलनरत राइनास नगरपालिकाका कर्मचारीहरु ।
प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, कल्याणकारी कोष अनिर्वाय र विज्ञापनमा उमेर हद नलाग्ने व्यवस्था गर्न माग गरेका छन् ।
अस्थायी तथा करार कर्मचारीलाई समेत उचित अधिकार सहित व्यवस्था गरिनुपर्ने लगाएतका माग अघि सारेका छन् ।
आन्दोलनरत मध्यनेपाल नगरपालिकाका कर्मचारीहरु ।
स्थानीय तहमा कर्मचारीहरु आन्दोलित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा ठप्प छ । कर्मचारीहरुको आन्दोलनले स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ् भने, सेवाग्राहीहरु प्रभावित भएका छन् ।
माग सहित विज्ञप्ती बुझाउँदै बेसीशहर नगरपालिकाका कर्मचारीहरु ।
सेवाअवधिको गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग उनीहरुको छ ।
कर्मचारीहरुको आन्दोलन देशैभर जारी छ । देशभरका स्थानीय तहमा करिब ६३ हजार कर्मचारको दरबन्दी छ । तर, दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नभएकाले कति कर्मचारी आन्दोलनमा छन् भन्ने स्पष्ट छैन ।
सरकारले संघीय निजामती सेवा ऐन संसदमा दर्ता गर्न अन्तिम तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीको आन्दोलनले सरकार अन्योलमा परेको छ ।