TagaroNews
लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष प्रहरी हिरासतमा 
लमजुङ अस्पताल लमजुङ ।

बेसीशहर – लमजुङमा डिउटीमा रहेको डाक्टरलाई हातपात तथा कुटपिट गर्ने वडा अध्यक्ष प्रहरी हिरासतमा पुगेका छन् । 

बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषि बस्नेतलाई प्रहरीले आजै हिरासतमा लिएको हो । उनले लमजुङ जिल्ला अस्पतालका डा. सन्दीप अधिकारीलाई हातपात गरेका थिए । 

वडा अध्यक्ष बस्नेतलाई सोमबार साँझ लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानका लागी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईंले बताए । 

वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेका हुन् । डाक्टरसँगको विवादपछि वडाध्यक्षले मुक्का प्रहार गरेको चपाईंले बताए ।

‘वडाध्यक्षले आमालाई उपचारका लागि अस्पताल ल्याएका रहेछन्, उपचारका क्रममा विवाद हुँदा उनले डाक्टरलाई मोबाइलले समेत प्रहार गरेछन् उनले भने, ‘मापसे पनि गरेको र मुक्का पनि प्रहार भएको डाक्टरहरुले बताएका छन् ।’

वडाध्यक्षले आमाको भर्नामा मञ्जुरीनामा नगर्ने भनेपछि विवाद भएको अस्पताल प्रशासनले जनाएको छ । मञ्जुरीनामा गर्न अनुरोध गर्दा नमानेको र उल्टै डाक्टरमाथि हातपात गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीले बताए ।

उनका अनुसार बिरामी भर्ना गर्दा बिरामी वा आफन्तले मञ्जुरीनामा गर्नुपर्छ । 

यता सोमबार भएको छलफलको क्रममा वडाध्यक्ष बस्नेतले भने बिरामी भर्ना लिन नमानेर अन्तै लैजानु भनेपछि विवाद हुँदा आफूले चर्को आवाज मात्रै गरेको बताएको एक सहभागीले बताए ।

घटना मिलाउन बिहानैदेखि छलफल भएको थियो । तर, मिल्न नसकेपछि डाक्टरहरुले अपराह्न ४ बजेमात्र प्रहरीमा जाहेरी दिए । उजुरी नपरेपनि सोमबार दिनभर वडाध्यक्ष बस्नेत भने, प्रहरी नियन्त्रणमै थिए ।  

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीले भर्ना प्रोसेस गर्ने क्रममा डाक्टरकै कक्षमा आएर बस्नेतले हातपात गरेको बताए ।

‘घटना राति १० बजेको हो । वडा अध्यक्षले मादकपदार्थ पनि सेवन गरेका थिए । भर्ना प्रोसेस गर्ने क्रममा डाक्टरकै कक्षमा हातपात गरे । अस्पतालका साथीहरुले उनलाई रोक्ने प्रयास पनि गरेका थिए । तर, सकेनन् ।’ उनले भने ।

दिनभरको छलफल विना निष्कर्ष टुङ्गिएपछि आफूहरु कानूनी रुपमै अगाडि बढेको समेत उनले जानकारी दिए । 

चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन’ विरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

मणिपालका चिकित्सकमाथि पनि हातपात
बिरामीको मृत्यु भएको विषयमा आफन्तहरुले पोखरास्थित मणिपाल अस्पतालका चिकित्सकमाथि पनि हातपात गरेका छन् ।

सोमबार दिउँसो बिरामीका आफन्तले हातपात गरेपछि मणिपाल अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको सोमबार मणिपाल अस्पतालका उपचारको क्रममा निधन भएपछि आक्रोशित आफन्तजनले चिकित्सकमाथि हातपात गरेका हुन् । बिरामीको उपचारमा सहभागी डा. अनिल शाहमाथि आफन्तले हातपात गरेका हुन् ।

उनीहरुले अस्पतालमा समेत तोडफोड गरेका छन् । अस्पतालमा तनावको स्थिति भएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी अस्पतालमा तैनाथ गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update