TagaroNews
संविधान दिवसमा लमजुङका ४ कैदिलाई आममाफी

बेसीशहर – संविधान दिवसको अवसरमा लमजुङका ४ जना कैदिबन्दिले आम माफी पाएका छन् । सवारी ज्यान मुद्धामा सजाय भोगिरहेका ३ जना र डाँका चोरी मुद्धाका १ जना कैदिले आम माफी पाएको जिल्ला कारागार लमजुङले जनाएको छ । 

सवारी ज्यान मुद्धामा कारागार रहेका क्व्होलासोँथार गापा–१ घर भएका इशान विश्वकर्मा, बेसीशहर नपा–१ का सुजन खवास र बेसीशहर–८ का मनोज मरहट्टा साथै डाँका चोरी मुद्धाका मर्स्याङ्दी गापा–४ का बुद्धिबहादुर गुरुङलाई भुत्तान हुन बाँकी कैद मिनाहा गरी आम माफी दिएको कारागारका जेलर कमलपती अधिकारीले बताए ।

उनका अनुसार सवारी ज्यान मुद्धाका ३ जनालाई जिल्ला अदालतले ३/३ वर्षको कैद फैसला सुनाएको थियो भने, डाँका चोरीका गुरुङलाई ६ वर्षको कैद फैसला गरेको थियो । 

सरकारले संविधान दिवसको अवसर पारेर ६ सय ७० जनाको कैद माफी मिनाहा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् ।

५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो । जिल्ला कारागार लमजुङबाट ६ जनाको नाम सिफारिस गरिएपनि ४ जनाको मात्रै स्वीकृत भएर आएको जेलर अधिकारीले जानकारी दिए । 

हाल कारागारमा ८० पुरुष र ७ महिला गरि ८७ जना कैदी र थुनुवा छन् ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update