
गोरखा - पछिल्लो समय आरोहीहरुको रोजाइमा परेको मनास्लु हिमाल आरोहणका लागि ३ सय १ जनाले अनुमति लिएका छन् ।
किलर माउन्टेनको रुपमा परिचित ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमाल आरोहणका लागी शुक्रबारसम्म २६ समूहका २ सय ३६ जना पुरुष र ६५ महिलाले अनुमति लिएका हुन् ।
अनुमति जारी भएका १० हिमालमध्ये सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिनेहरु रहेको पर्यटन विभागले जनाएको छ ।
शुक्रबारसम्म मनास्लुसहित देशभरका १० हिमाल आरोहणका लागि ३ सय ३९ जनाले अनुमति लिइसकेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ ।
गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँमा रहेको मनास्लु हिमाल आरोहणका लागि शरद ऋतुलाई उपयुक्त समय मानिन्छ ।
आरोहण अनुमति जारी भएसँगै मनास्लु आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । मनास्लु हिमालमा डोरी टांग्ने काम पनि सुरु भइसकेको छ ।