TagaroNews
नेम्वाङलाई राजकीय सम्मान दिने, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

काठमाडौं - संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा बिहान बसेको मन्त्रिरिषदको आकस्मिक बैठकले नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माका अनुसार शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ ।

नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ । अन्त्येष्टिको दिन सार्वजनिक बिदा हुनेछ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङ हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update