
लमजुङ – लमजुङमा ७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको भुजुङ हाइड्रो पावर लिमिटेडले साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ ।
कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न भदौ १३ गते बोर्डमा आवेदन दिएको हो ।
जारी पूँजी ५ करोड रमक बराबरको सय रुपैयाँ अंकित ५ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बोर्डबाट स्वीकृत प्राप्त हुने लगतै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीले लमजुङमा २०७७ साल देखि निर्माण सुरु गरेको माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको पनि कम्पनीले जानकारी दिएको छ ।
आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि विद्युत २५ किलोमिटरको दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिनेछ ।
कम्पनीले आयोजना निर्माण गर्न २०७६ भदौ २६ गते विद्युत विकास विभागबाट उत्पदान अनुमतिपत्र लिइएको थियो ।
१ अर्ब ४४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कुमारी बैंकको अगुवाई सांग्रिला डेभलपमेन्ट बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपूजी लगानी रहेको कम्पनीले जनाएको छ ।