
बेसीशहर – जिल्ला अदालत लमजुङले आफ्नै विद्यार्थी बलात्कारको कसूरमा दोषी ठहर गर्दै एक शिक्षकलाई कैद सजाय फैसला गरेको छ ।
१५ बर्षिय विद्यार्थी बलात्कारको कसुरमा राइनास नपा-९ स्थित भैरव माविका शिक्षक प्रकाश थापालाई अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश शिव खनालको इजलासले आरोपित शिक्षक थापालाई बलात्कारको कसूरमा भदौ १२ गते मंगलबार दोषी ठहर गर्दै सो फैसला गरेको अदालतका तहसिलदार विश्वराज कुइँकेलले जानकारी दिए ।
उनका अनुसार थापाबाट पीडित बालिकालाई २ लाख ५० हजार रुपैँया क्षतिपूर्ति भराउन समेत फैसला गरिएको छ ।
शिक्षक प्रकाश थापालाइ अदालतले ०७९ असोज ७ गते बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
राइनास ९ मोहोरियाकोट निवासी शिक्षक थापा र सोही ठाउँका अर्जुन विक्रम थापाले आफूलाइ विभिन्न समयमा जबरजस्ती बलत्कार गरेको भन्दै पीडित छात्राले ०७९ भदौ १ गते जिल्ला प्रहरी कार्यालय लमजुङमा किटानी जाहेरी दिएकी थिइन ।
जाहेरी लगत्तै अर्जुन विक्रम थापा पक्राउ परेका थिए । शिक्षक प्रकाश थापालाइ भने ०७९ भदौ १४ गते प्रहरीले पक्राउ गरेको थियो ।
न्यायाधीश खनालको सोहि दिनको इजलासले अर्का आरोपित अर्जुन विक्रम थापालाई समेत बलात्कारको कसुरमा दोषी ठहर गरी सजायको फैसला गरेको छ । आरोपित थापालाई समेत अदालतले १२ बर्ष कैद सजायको फैसला गरेको र सोहि अनुरुप क्षतिपूर्ति माग गरिएको तहसिलदार कुइँकेलले जानकारी दिए ।
प्रहरीका अनुसार यो मुद्दामा पीडित किशोरी एकै भए पनि घटना अलग हो । घटना अलग-अलग भएकाले अभियुक्तहरूलाई छुट्टा–छुट्टै मुद्दा चलाइएको जनाइएको छ ।