TagaroNews
पाठेघरको क्यान्सर विरुद्धको खोप पोखरामा लगाइने, परिचयपत्र अनिवार्य

पोखरा - सरकारले पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गते बुधबारदेखि लगाउने तयारी गरेको छ । परिवार कल्याण महाशाखाका अनुसार सात प्रदेशका अस्पतालमा केन्द्रित भएर एचपीभी खोप वितरण गर्ने भएको हो ।

महाशाखाका प्रमुख डा. विवेकलाल कर्णका अनुसार गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका किशोरीलाई मध्यनजर गर्दै पाठेघर मुखको क्यान्सर बिरुद्धको खोप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाइने भएको छ  ।

‘एचपीभी खोपको मात्रा पनि कम भएको र खोपपछि हुने अवाञ्छित घटनालाई मध्यनजर गर्दै अस्पताल केन्द्रित भएर दिने निर्णय गरेका हौं’ कर्णले भने, ‘विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको खोप हो ।’

विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो ।

एचपीभी खोप अहिलेको लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लिनका उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ ।

सरकारी स्तरबाट पहिलो पटक किशोरीलाई दिन लागिएको एचपीभी विरुद्धको खोप गत असार १९ मा नेपालमा आइपुगेको थियो ।

उक्त उमेर समूहका किशोरीलाई यो खोप दुई मात्रा दिनुपर्ने हुन्छ । खेर जाने खोपको सम्भावित अनुमान गर्दा करिब ९ हजार ५०० किशोरीलाई मात्र दिने महाशाखाले जनाएको छ ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । र, ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।

चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघर मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ । विश्व स्वास्थ्य संगठनले स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानका अनुसार नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघर मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।

चिकित्सकका अनुसार ३० देखि ४५ वर्षसम्म पुग्दासम्म ८० प्रतिशत एचभीपीको संक्रमण भइसकेको हुन्छ । ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । सानो उमेरमा लगाएको खोप बढी प्रभावकारी हुन्छ ।

एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट पनि बचाउँछ । चिकित्सकका अनुसार एचपीभी विरुद्ध खोप यौन सम्पर्क अगाडि लगाउन सके जीवनभर ९० प्रतिशत सुरक्षित राख्छ ।

सरकारले सहज रुपमा खोप उपलब्ध गराउन नसक्दा निजी संस्थाहरुले आफ्नै हिसाबमा खोप आयात गर्दै वितरण गर्दै आएका छन् । यसका कारण महिलाहरु उक्त खोपका लागि महँगो शुल्क तिर्न बाध्य छन् ।

अन्य प्रदेशको हकमा कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा एचपीभी खोप दिइनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update