TagaroNews
डेढ महिना नि टिकेन भाचोक खोलाको काठे पुल
तस्बिरमा पहिलोमा पुल निर्माणसँगै फोटो खिच्न पुगेका समूह र दोस्रोमा पुल भत्किएपछिको दृश्य ।

बेसीशहर – लमजुङको बेसीशहर नगरपालिका –१० का बासिन्दालाई सहज होस भनि भाचोक खोलामा निर्माण गरिएको अस्थायी काठे पुल डेढ महिना नबित्दै भत्किएको छ । 

गएरातीको बर्षाका कारण खोलाको बहाब बढेपछि पुल भत्किएको स्थानीयले बताएका छन् । पुल भत्किएसँगै सवारीसाधन आवतजावत ठप्प छ, भने स्थानीलाई समस्या परेको छ । 

गत असारको पहिलो साता आएको बाढीले पूल बगाएपछि यातायात सम्पर्क विच्छेद भएको थियो । बर्षातका बेला खोलामा पुल नभएपछि स्थानीय बासीन्दा जोखिम मोलेर खोला तर्न बाध्य भए । यातायातका साधान चल्न सकेनन् ।

पुल नहुँदा वडा नं. १० मा पर्ने खासुर, खासुरबेसी, देउजनथोक, पांग्रेक्यू, खाँचे, कुप्लिङ, गाउँ भाचोक, सिरूवारी, भाचोकबेसी लगायतका स्थानका स्थानीय ठूलो समस्यामा परे ।

स्थानीयले करिब एक महिनाको प्रयासमा साउन दोस्रो साता अस्थायी काठको पूलको निर्माण गरे । केहि समय आवत जावतमा सहज भएपनि अहिले पुल भत्किएको हो । 

स्थानीय बासीन्दाले श्रमदान र चन्दा संकलन गरी पुल निर्माण गरेका थिए । उनीहरूको प्रयासमा वडा कार्यालय, बेसीशहर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, डुम्रे बेसीशहर चामे सडक योजनासमेतले सहयोग गरेको थियो ।

बेसीशहर नगरपालिकाले बिपद कोषबाट पुलको जग बनाउन आवश्यक रड, सिमेन्ट र एक्साभेटरका लागि चाहिने इन्धनमा सहयोग गरेको थियो । वडा नं. १० का विभिन्न गाउँका स्थानीयले श्रमदान गरेका थिए । 

पुलका लागि चाहिने काठ वन कार्यालयसँगको समन्वयमा गाउँकै सामुदायिक वनले उपलव्ध गराएको थियो ।

श्रमदान र सम्बन्धीत निकायको सहयोग बाहेक पुल निर्माणमा ३ लाख बढी खर्च भएको स्थानीय दुधप्रसाद घलेले बताए ।

भाचोक खोला सडक बेसीशहर–चामे सडकको बैकल्पिक मार्ग पनि हो । बेसीशहर ६ मा पर्ने खरखरे भीरमा पहिरो जाँदा बेसीशहरबाट बाँझाखेत, भाचोकबेसी, लेतेफाँट, माथिल्लो मर्स्याङ्दीको पावर हाउस हुँदै सुरूङमार्गमा यो सडक जोडिन्छ ।

खहरे खोलामा बर्खाको बेला जुनसुकै समयमा बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर नगरी साघुँरो किसिमले पुल निर्माण गर्दा यो समस्या आएको प्राविधिकहरु बताउँछन् । 

पुल निर्माण सँगै यो पुलमा फोटो र सेल्फी खिच्न पुगेका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, दलका नेता तथा कार्यकर्तालाई अहिलेको भत्किएको पुलको दृश्यले भने, गिज्याईरहेको छ ।

पुल भत्किएको दृश्य यतिवेला सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update