TagaroNews
राष्ट्रिय भलिबल खेलाडीलाई पहिलो पटक तलब

काठमाडौं -  नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका छन् ।

अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी, बिजेन ईन्टरप्रेनर र भलिबल प्रेमीको सहयोगमा नेपाल भलिबल संघले पहिलो पटक खेलाडीलाई मासिक पारिश्रमिक घोषणा गर्दै खेलाडीलाई पहिलो पारिश्रमिक वितरण समेत गरेको छ ।

संघले महिला तथा पुरुष राष्ट्रिय टिमका १२–१२ गरी २४ जनालाई ५–५ हजार प्रदान गरेको छ । अमेरिकामा रहेका दाताहरुले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तलब संघको खातामा पठाइसकेका छन् ।

संघले मंगलबार तीन महिनाको एकमुष्ट तलब जनही १५ हजारका दरले खेलाडीलाई वितरण गरेको हो । संघले २४ खेलाडीका लागि तलब दिने छ ।

पहिलो मासिक तलब बुझेपछि खेलाडीहरुले खुसी व्यक्त गरे । महिला टिमकी कप्तान अरुणा शाहीले भनिन्, ‘मैले खेल्न थालेको १४–१५ वर्ष भयो, पहिलो पटक यस्तो काम भएको छ ।’

पुरुष टिमका कप्तान मानबहादुर श्रेष्ठले नेपाली भलिबलका लागि यो ऐतिहासिक दिन रहेको बताए ।

खेलाडीलाई तलब दिने भलिबल संघ चौथो हो । यसअघि फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाइरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update