
बेसीशहर – लमजुङमा सुन चोरी गरेको आरोपमा प्रहरीले आइतबार एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेसीशहर नपा–०८ शेरा घर भएकी २७ बर्षिय सुजा घिमिरे रहेकी छन् ।
उनले गत बैशाख २५ गते बेसीशहर नपा–०७ क्याम्पस रोड स्थित एक घरबाट र साउन ३० गते सोही वडाको न्यू ईरा बोर्डिङ स्कुल नजिकै एक घरबाट गरी करिब २३ तोला बराबरको सुन चोरी गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले बताए ।
प्रहरीका अनुसार आरोपित युवती घिमिरेको घरमा आइतबार बेलुका नै खोजतलास गर्दा सुनको रानीहार १ थान, सुनको वाला २ थान, सुनको रातो पत्थर जडित औँठी २ थान, सुनको औँठी २ थान, सुनको सिक्री १ थान, सुनको मिनिहार १ थान, सुनको टप ४ थान, सुनको पत्थर जडित टप २ थान, सुनको गणेशको मुर्ती भएको लकेट १ थान, सुनको झुम्का २ थान बरामत गरिएको छ ।
आरोपित युवती घिमिरेलाई सोमबार लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सुवेदीले जनकारी दिए ।
उनी बेसीशहर स्थित ग्रामिण सामुदायिक विकास केन्द्र (RCDC) लमजुङमा कार्यरत कर्मचारी समेत हुन् ।
लमजुङमा श्रृंखलाबद्ध रुपमा कहिले हप्ता दिन त कहिले महिना दिनको फरकमा सुन चोरीको घट्ना हुँदै आएको छ । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।