TagaroNews
उपनिर्वाचनका लागि सकियो मतपत्र छपाइ

काठमाडौँ — आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।

गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १, मधेस प्रदेशको बारा क्षेत्र नं २ र वाग्मती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कुल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ पूरा भएको हो । ती मतपत्र आवश्यक सुरक्षा प्रबन्धसहित बुधबारदेखि सम्बन्धित निर्वाचन क्षेत्रका लागि ढुवानी गरिने आयोगले जनाएको छ ।

तनहुँ क्षेत्र नं १ का लागि एक लाख ३६ हजार, बारा क्षेत्र नं २ मा एक लाख १६ हजार र चितवन क्षेत्र नं २ मा एक लाख ३८ हजार मतपत्र छपाइ गरिएको छ । ती क्षेत्रमा मनोनयपत्र दर्ता गर्ने उम्मेदवारका आधारमा निर्वाचन चिह्नसमेत समावेश गरी मतपत्र छपाइ भएको हो । उपनिर्वाचनका लागि कुल ६७ जना उम्मेवारले उम्मेदवारी दिएका छन् । आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार बारा क्षेत्र नं २ मा ३४, तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं २ मा २४ जना उम्मेदवार छन् ।

आयोगको अद्यावधिक विवरणअनुसार र तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच, बारा–२ मा एक लाख पाँच हजार दुई सय ४८ र चितवन–२ मा एक लाख २४ हजार छ सय ९५ मतदाता कायम भएका छन् ।
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update