
लमजुङ - लमजुङ जिल्लामा झण्डै साढे ३ करोड रुपैँया विद्युत महसुल उठ्न बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार आर्थिक बर्ष ०७९/८० को असार मसान्त सम्म ३ करोड २६ लाख ८३ हजार २५ रुपैँया महसुल उठ्न बाँकी रहेको हो ।
आ.व. ०७९/८० को मात्र तथ्याङ्क हेर्दा केन्द्रले महसुल नतिर्ने ८ सय ६६ उपभोक्ताको विद्युत् लाइन काटेको थियो । उनीहरुबाट १ करोड ३३ लाख ५९ हजार ४ सय ४९ रुपैँया महसुल उठ्न बाँकी रहेकामा ७ सय ९३ उपभोक्ताले काटेको लाइन पुनः जोडेका छन् ।
उनीहरुबाट ९७ लाख ५८ हजार १ सय २४ रुपैँया असुली गरेको केन्द्र प्रमुख इन्जिनियर मेघनाथ भट्टराईले बताए । उनका अनुसार लाइन काटिएका ७३ उपभोक्ताबाट ३६ लाख एक हजार ३ सय २५ रुपैँया उठ्न बाँकी छ ।
केन्द्र प्रमुख भट्टराईले भने, ‘लाइन काटेर पनि महसुल नदिर्ने उपभोक्तालाई कालोसूचीमा राख्ने तयारीमा छौँ, उनीहरुको तीन पुस्ते विवरण संकलन गरेर स्थायी बसोबास जहाँ छ् त्यहाँबाट लाइन काटेर असुल उपर गछौँ ।’
गत बर्ष २ करोड २५ लाख ४१ हजार ७ सय ३ युनिट विद्युत् बिक्री गरी २० करोड ३० लाख ५३ हजार ८ सय ११ रुपैँया सङ्कलन भएको केन्द्रको तथ्याङ्क छ ।
गत आवमा विद्युत् चोरी गर्ने ७ जनालाई कारबाही गरिएको थियो । उनीहरूबाट ५२ हजार ६ सय २७ रुपैयाँ जरिवाना असुल गरिएको केन्द्रले जनाएको छ ।