TagaroNews
बेसीशहर–चामे सडक पुनः अबरुद्ध, लमजुङ खण्डमै जोखिम  

बेसीशहर – लमजुङ हुँदै हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेसीशहर–चामे सडक पहिरोका कारण पुनः अबरुद्ध भएको छ ।

बुधबार देखीको पटक–पटकको वर्षाका कारण बिहीबार बिहिनै सडकखण्डको ठाउँठाउँमा पहिरो चलेपछि यातायात सेवा ठप्प रहेको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

लमजुङ खण्डको बेसीशहरदेखि करिब ३ किलोमिटरको दूरीमा पर्ने बेनपा–६ स्थित खरखरे र करिब ३३ किलोमिटरमा पर्ने मर्स्याङ्दी - ४ च्याम्चेको बक्स कटिङमामा ठूलो पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर सुमन अधिकारीले बताए । 

उनले भने, ‘सडक खण्डको रामबजार, घोप्टे र च्याम्चेको पहिरो खस्दा बिहान साढे ५ देखी सडक अबरुद्ध भयो, तत्काल मेसिन लगाएर पहिरो पन्छाएकाले बिहान ८ बजेदेखी नै यो ठाउँको पहिरो खुल्यो, तर, खरखरे र च्याम्चेकै बक्स कटिङमा पहिरो ठूलो छ । खुलाउने प्रयासमा छौँ ।’

पहिरो हटाउन स्काभेटर मेसिन परिचालन गरिएको र पुनः बर्षा हुन थालेकाले काम गर्न असहज भैरहेको उनले बताए ।

बेसीशहरबाट चामेसम्मको ६५ किलोमिटरको दूरीमध्ये लमजुङ खण्डको ३५ किलोमिटरमै बढी पहिरो खस्ने गरेको छ ।

लमजुङ खण्डमा दैनिकजसो पहिरो चल्दा जोखिम बढेकाले सडक हुँदै यात्रा गर्ने यात्रु र सवारीसाधनलाई बिशेष सावधानी अपनाउन समेत सडक कार्यालयले अनुरोध गरेको छ ।

सडक कार्यालयका अनुसार पहिरो पन्छाउनका लागी लमजुङतर्फ रामबजार, श्रीचौर र मनाङतर्फ दानाक्युमा स्काभेटर मेसिन तयारी अवस्थामा राख्ने गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update