
मुस्ताङ - हिमाली जिल्ला मुस्ताङमा बाढीले पुरिएको डेढ करोड रुपैँया फेला परेको छ ।
बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एक करोड ५ लाख ३२ हजार ९६४ रुपैँया फेला परेको हो ।
बाढीले प्रभु बैंकको भवननै बगाएको थियो भने, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी प्रमुख डिएसपी रवीन्द्रनाथ पौडेलले बताए । उनका अनुसार एक सातापछि आइतबार फेला परेको रकम सुरक्षित नै छ ।
गाउँले, सुरक्षाकर्मी र बैंकका कर्मचारीहरूले उत्खनन गर्ने क्रममा पैसा फेला परेको हो । भल्टसँगै पैसा फेला परेको हुँदा पैसा सुरक्षितनै रहेको र बैंकको भवन छुट्टा–छुट्टै रहेकाले कुन बैंकको पैसा हो भन्ने पत्ता लगाउन सहज भएको डिएसपी पौडेलले जानकारी दिए ।