
सुन्दरबजार - लमजुङको सुन्दरबजार नगरपालिका-१ कुन्छा स्थित शान्ति माध्यमिक विद्यालयको ऋण लगानी भएको रकम सावा ब्याज सहित उठ्न बाँकी देखिएको छ ।
विद्यालयको १७ लाख बढी रकम २० प्रतिशत ब्याजदरमा ऋण लगानी भएको छ । सो रकम चलाउनेमा विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी, शिक्षक देखी विद्यालय बाहिरका व्यक्ति समेत छन् ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका सुन्दरबजार नगरपालिकाका पूर्व मेयर जनकराज मिश्रले भने, तगारो न्युज लगाएत अन्य सञ्चारमाध्यममा समाचार आए लगत्तै आफुले ३ बर्ष अघि लगेको रकम ब्याज सहित फिर्ता गरे ।
मिश्रले ०७७ सालमा निर्णय र कुनै कागजी प्रक्रिया बिना विद्यालयको एक लाख ५० हजार रुपैँया चलाएका थिए । विद्यालयको आ.व. ०७८/७९ को सार्वजनीक लेखा परिक्षण (अडिट) गर्दा सो रकमबारे खुल्न आएको विद्यालयले जनाएको छ । साँवा ब्याज नै रोकिएको विद्यालयको रकम उठेको विद्यालयका सुचना अधिकारी भरत बसेलले बताए ।
विद्यालयको तथ्याङ्क हेर्दा विद्यालयमा कार्यरत ९ जना शिक्षकहरुले लगेको १६ लाख ४ हजार ५ सय २८ रुपैँया ऋण उठेको देखिदैन् । २०६३ सालमा तत्कालिन विद्यालय व्यवस्थापन समितिले (स्थायी शिक्षकलाई मात्र ऋण लगानी गर्ने) भन्ने निर्णय गराएको सुचना अधिकारी बसेलले बताए । ऋण लाने शिक्षकहरुले विद्यालयको नियमअनुसार तकसुक गरेर नियमित ब्याज प्राप्त भइरहेको समेत उनले जानकारी दिए ।
तर, विद्यालय शिक्षक भन्दा बाहिर एक व्यक्तिलाई १ लाख रुपैँया रकम दिइएको छ । २०६२ साल मंसिर ९ मा विद्यालयले ति बाह्य ब्यक्तिलाई ऋण दिइएको हो । जस्को तमसुक गरिएको भनिएपनि २०७२ साल यता साँवा, ब्याज केहिपनि प्राप्त भएको छैन् । झण्डै ८ बर्षदेखी साँवा ब्याज प्राप्त नहुँदा समेत विद्यालयले सो रकम उठाउनेबारे कुनै प्रक्रिया अघि बढाएको देखिन्न् । ति व्यक्तिको नाम भने, विद्यालयले खुलाएन् ।
शान्ति माविमा अहिले २५ जना शिक्षक छन् । जस्मध्ये ४ जनालाई निजि स्रोतबाट व्यवस्थापन गरिएको विद्यालयका प्रअ उत्तम बसेलले बताए । विद्यालयको उठ्नुपर्ने रकमको साँवा ब्याज सहि समयमा उपलब्ध भए निजि स्रोतलाई धान्न र अन्य भौतिक तथा शैक्षिक सामाग्रीमा खर्च गर्न सहयोग पुग्ने उनले बताए ।
उनले भने, ‘अहिले विद्यालयको सोसल अडिट चलिरहेको छ, केहि शिक्षक साथिहरुले ऋण रकम फिर्ता गर्ने समेत कुरा भएको छ । अहिले आँखा पाक्ने रोग फैलिएकाले हामीले तत्काल विद्यालय समितिको बैठक राख्न सकेनौँ, हामी छिट्टै बैठक राखेर उठ्न बाँकी रकमबारे ताकेता गरिहाल्छौँ ।’
विद्यालयको ऋण रकमबारे विद्यालयबाट प्राप्त सूचना ।
यो पनि..
विद्यालयको रकम पचाएर सुन्दरबजारका पूर्व नगर प्रमुख मिश्र चुपचाप