TagaroNews
लमजुङका शिक्षक आन्दोलितः प्रदेश सांसदलाई बुझाए ज्ञापनपत्र
प्रदेश सांसद पौडेललाई ज्ञापनपत्र बुझाउँदै शिक्षक संघ संगठनका प्रमुख तथा प्रतिनिधि ।

बेसीशहर – लमजुङका शिक्षकहरु आन्दोलित भएका छन् । संघीय संसदमा पेस हुने तयारीमा रहेको संघीय विद्यालय शिक्षा ऐन २०८० मा अनुदान, राहत, बालविकास, विद्यालय कर्मचारी, साबिक उच्च मावि, प्राविधिक धार र अनुदान कोटामा कार्यरत शिक्षकका मागलाई बेवास्ता गरिएको भन्दै आन्दोलित भएका हुन् ।

शिक्षक महासंघको केन्द्रीय सर्कुलर अनुसार प्रथम चरणमा उनीहरुले शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय पालिकामा ज्ञापनपत्र बुझाएका थिए । यस्तै बिहिबार प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको शिक्षक संघ गण्डकीका महासचिव शिव अधिकारीले बताए ।

शुक्रबार भने, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश र संघका सांसदमार्फत सरकारको ध्यानाकर्षण गराउने भन्दै शिक्षक संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले प्रदेश सांसद भेष बहादुर पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । 

संघीय शिक्षा ऐनमा श्रमजीवी शिक्षकका विशेष मुद्दालाई उपेक्षा गरिएकाले शान्तिपूर्ण आन्दोलन गरेको महासचिव अधिकारीले बताए । देशभरिका शिक्षकको छाता संगठन शिक्षक महासंघ र सरकारबीच भएका ३० बुँदे र ५१ बुँदे सहमति कार्यान्वयन गर्न उनीहरुले माग गरेका छन् । 

देशभरि पठनपाठनमा सक्रिय ४५ हजार राहत शिक्षकलाई सामान्य आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने, बालबिकासमा कार्यरत सहजकर्ता, विद्यालय कर्मचारी, साबिक उमाबि, प्राबिधिक धारका प्रशिक्षक लगाएतलाइ सम्बोधन गर्नुपर्ने बिगतका समझदारीमा भएको कुरा अधिकारीले स्मरण गराए । आफूहरूको जायज माग सम्बोधन गराउन दोस्रो चरणमा काठमाडौ केन्द्रित आन्दोलन हुने शिक्षकहरुले बताएका छन् ।

यता प्रदेश सांसद पौडेलले शिक्षकहरुको माग जायज रहेकाले आफुले संंघ र प्रदेशका सांसदहरुसँग सहकार्य गरेर माग सम्बोधनमा पहल गर्ने बताए । राज्यले पनि शिक्षकहरुको मागलाई ध्यानमा राखी उचित निर्णय गर्नुपर्ने उनको भनाई छ । 

ज्ञापनपत्र बुझाउने क्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख हरि बराल, नेपाल शिक्षक संघ केन्द्रिय सदस्य विष्णुमाया भण्डारी, संघका गण्डकी महासचिव शिव अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन लमजुङका पूर्व अध्यक्ष राजु थापा र जिल्ला कोषाध्यक्ष पुष्प बरालको उपस्थिति थियो । 

यस्तै शिक्षक संघ बेसीशहर नपा पूर्व अध्यक्ष दिपेन्द्र रावल, वर्तमान अध्यक्ष एकदेव घिमिरे, सचिव विजय बैरागी, शिक्षक संगठनका पालिका अध्यक्ष बसन्त अधिकारी, उपाध्यक्ष नारायण अधिकारी, एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष गम बहादुर दनाई, ट्रेड युनियन कांग्रेस प्रदेश प्रतिनिधि कल्पना घिमिरे लगाएत उपस्थित थिए ।

देशभरिका शिक्षक आन्दोलनमा होमिए पनि पहिलो चरणमा प्रतिनिधि मूलक रूपमा सहभागी हुँदा विद्यालयको पठनपाठनमा खासै असर परेको देखिन्न । तर, दोस्रो चरणको आन्दोलनमा भने, पठनपाठन प्रभावित हुने देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update