TagaroNews
लघुजलविद्युत् मर्मतः मनाङको भीमताङ सहित ९० आयोजनाबाट उत्पादन नियमित

पोखरा – गण्डकी प्रदेश सरकारले आफ्नै लगानीमा निर्माण गरेको मनाङको नासो गाउँपालिका स्थित ३० किलोवाटको भीमताङ लघुजलविद्युत् आयोजना मर्मत गरेसँगै उत्पादन नियमित भएको छ ।

प्रदेश सरकारले पछिल्ला ५ वर्षमा भीमताङ सहित प्रदेशका ९० लघु जलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको हो । जीर्ण आयोजना मर्मत गरिएपछि ३ हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।

ती आयोजनाबाट १५ हजार ४ सय ४० घरधुरी लाभान्वित भएको मन्त्रालयको ऊर्जा शाखाका इन्जिनियर जीवन श्रेष्ठले बताए । उनका अनुसार प्रदेशमा झण्डै ४ सय लघुजलविद्युत् आयोजना छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत ३ सय ७१ र बाँकी अरू संस्थाले निर्माण गरेका आयोजना छन् ।

सौर्य ऊर्जा र लघु जलविद्युत्बाट प्रदेशको ३.८२ प्रतिशत जनसंख्यामा बिजुली पुगेको छ । राष्ट्रिय प्रसारण लाइन र नवीकरणकीय ऊर्जा मार्फत गरी प्रदेशका ९९.५० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेका छन् ।

प्रदेश सरकारले चालू आवभित्रै ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारी अघि बढाएको छ । बाँकी रहेका ०.५ प्रतिशत घरधुरीमा बिजुली पुर्याउने कार्य भइरहेको जनाइएको छ । पछिल्लो आर्थिक सर्वेक्षण अनुसार २ हजार ८ सय ८४ घरधुरीमा मात्र विद्युत् नपुगेको देखिएको श्रेष्ठले जानकारी दिए ।

तनहुँ, बागलुङ र नवलपुरका केही ठाउँमा विद्युत् सेवा पुर्याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । ऊर्जा शाखाका अनुसार ५ लाख ७४ हजार ७ सय ९८ घरधुरी विद्युत् सेवाको पहुँचमा छन् । जसमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५.६८ प्रतिशत छ भने बाँकी लघुजलविद्युत्, नवीकरणीय ऊर्जाको योगदान छ ।

राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मनाङ, मुस्ताङ म्याग्दी र गोरखाका सात स्थानीय तहका एक हजार दुई सय पाँच घरधुरीमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा जडान गरिएको मन्त्रालयले जनाएको छ । संस्थागत सौर्य ऊर्जा जडान कार्यक्रमबाट विभिन्न जिल्लामा गरी कूल एक सय ६२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update