TagaroNews
बेसीशहर नगर प्रहरीको बार्षिक खर्च ३१ लाख बढी
बेसीशहर नगरपालिकामा परिचालित नगर प्रहरी ।

बेसीशहर -  लमजुङका ८ स्थानीय तह मध्ये बेसीशहर नगरपालिकामा मात्र नगर प्रहरी राखिएको छ । बेसीशहर नगरपालिकाले असईको कमाण्डमा ९ जना नगर प्रहरी राख्दा बार्षिक खर्च झण्डै ३१ लाख हुने गरेको छ । 

बेसीशहर नगरपालिकाको आ.व.०७९/८० को तथ्याङ्क हेर्दा नगर प्रहरीको तलब भत्ता पोशाकमा ३० लाख ९२ हजार ६ सय ९४ रुपैँया खर्च हुने गरेको पालिकाको लेखा शाखाले जनाएको छ । उनीहरुको चाडपर्व लगाएतका अन्य खर्चहरुको विवरण भने, पालिकाले सार्वजानिक गरेको छैन् । 

पालिकामा १ जना नगर प्रहरी निरिक्षक (असई), १ जना प्रहरी हवल्दार र ७ जना जवान गरी ९ जना नगर प्रहरी नियुक्ती गरिएको छ ।

तथ्याङ्क हेर्दा आ.व. ०७९/८० मा तलब भत्ता पोशाकमा नगर प्रहरी निरिक्षक (असई) को ३ लाख ७० हजार ६ सय ६० रुपैँया, हवल्दारको ३ लाख ४५ हजार २ सय २ रुपैँया र नगर प्रहरी जवानहरुको २२ लाख ४७ हजार ८ सय ८२ रुपैँया खर्च भएको लेखा शाखाले जनाएको छ । यस्तै नगर प्रहरीको पोशाकमा १ लाख २८ हजार ८ सय ५० रुपैँया खर्च भएको छ ।

यस्तै आ.व. ०७८/७९ मा तलब भत्ता पोशाकमा २६ लाख ८३ हजार ५ सय रुपैँया खर्च भएको देखिएको छ । यसरी हेर्दा प्रत्येक आर्थिक बर्षमा खर्च बढेको देखिन्छ । नगर प्रहरीको तलब भत्ता र पोशाकको खर्च हेर्दा दुई वर्षमा करिब ५८ लाख भएको पालिकाका सुचना अधिकारी किसान चिलुवालले जानकारी दिए । 

जिल्लाको ८ वटा स्थानीय तह मध्ये ७ वटा पालिकाले प्रहरी भर्ती गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकारको प्रयोग गरी बेसीशहर नगर कार्यपालिकाले २०७५ माघ २ गते बुधबारदेखी नगर प्रहरी परिचालन गरेको हो । 

नगर प्रहरी परिचालनका लागि नगरसभाबाट २०७४ असार १४ गते प्रहरी नियमावली ल्याइएको थियो । नगरपालिकाद्धारा प्रकाशित स्थानीय राजपत्रको नगर प्रहरी नियमावली–२०७५ मा नगर प्रहरीलाई विभिन्न २५ वटा कार्य गर्ने अधिकार दिइएको छ ।

तर, स्थानीय सरकारले आफ्नै प्रहरी राख्न पाउने संवैधानिक व्यवस्था भएपनि बेसीशहर नगरपालिकाले प्रहरी राखेर अनावश्यक रकम खर्च गरेको पालिकाबासीको गुनासो छ ।
 


 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update