TagaroNews
लमजुङका सुवास गुरुङ सहित ३ जना नक्कली नोटसहित पक्राउ

काठमान्डौं – सशस्त्र प्रहरीले नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ काठमाडौंको तारकेश्वर नपा–५ स्थित गोलढुंगाबाट सशस्त्र प्रहरीले नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका-२ घर भएका सुवास गुरुङ, खोटाङ दिप्रुङ गाउँपालिका-५ का लक्ष्मी पाण्डे र रामेछापको गोकुलगंगा गाउँपालिका-१ का मदन दमाई छन् ।

गोलढुंगा नगिनी खोला स्थित स्थानीय हिम्मत बमको घरमा डेरामा बस्ने उनीहरुको साथबाट एक हजार दरका १ लाख ८२ हजार नक्कली नोट बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

यसैगरी मोबाइल चार थान,  सिमकार्ड दस थान र बा६५प ९०२७ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकाले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइराखेको आशंका प्रहरीको छ।

सशस्त्रले नोट बनाउन प्रयोग गरिने २ सय थान कागज बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरी वृत्त बालाजुमा बुझाइएको डिएसपी थापाले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update