TagaroNews
अब ५ रुपैयाँको नयाँ सिक्का प्रचलनमा ल्याइने
यसअघि प्रचलनमा आएको ५ रुपैँयाको सिक्का ।

काठमाडौं - सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएकोमा अब राष्ट्र बैंकले ५ रुपैयाँ दरको सिक्का बजारमा ल्याउन लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलले बताए ।

नेपाल राष्ट्र बैंक ‘नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५–पहिलो संशोधन, २०७५’मा नयाँ डिजाइन हुने सिक्काको टकमरी नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि मात्रै  गर्न सक्ने व्यवस्था छ ।

पुरानै डिजाइनको सिक्का पुनः टकमरी भने राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृतिबाटै गर्न पाइने व्यवस्था छ । ५ रुपैयाँ दरको नयाँ सिक्का नयाँ डिजाइनमा आउने छ । सिक्काको नयाँ डिजाइनमा नेपालको संस्कृति झल्कने र राष्ट्रिय जनावर पनि अंकित हुने राष्ट्र बैँकले जनाएको छ ।

नोटको आयु १ देखि ३ वर्ष हुन्छ । सिक्काको आयु २० वर्ष भनिए पनि ४० वर्षसम्म हुन्छ । नेपालमा यसअघि पनि ५ रुपैयाँको सिक्का प्रचलनमा रहेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update