TagaroNews
लमजुङको म्हेन्दो सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन छोड्यो, जोखिममा बचत
बेसीशहर स्थित म्हेन्दो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय ।

बेसीशहर - लमजुङ सदरमुकाम बेसीशहरमा रहेको एक सहकारीमा बचतकर्ताहरुले गरेको बचत जोखिममा परेको छ । उक्त सहकारीले बचतकर्ताको पैसा फिर्ता दिनै छोडेपछि यो कुरा बाहिर आएको हो । 

बेसीशहर नपा–८ ठाडो लाइनमा रहेको म्हेन्दो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो बचतकर्ताको रकम फिर्ता दिन सकेको छैन् । दिनहुँजसो बचतकर्ताहरु सहकारीमा आफ्नो बचत रकम फिर्ता लिन आउँछन् तर, सहकारीले अनेकौँ बहनाबाजी गर्दै बचतकर्ताहरुलाई रित्तो हात फर्काउने गरेको छ ।

बेसीशहर नपा–६ बस्ने चन्द्रमाया घलेले यस सहकारीमा १५ वर्षको लागि मासिक ५ हजार र अर्को १० बर्षका लागि मासिक १ हजारको दरले रकम बचत गर्दै आएकी थिइन् । उनले गत ०७६ मंसिर ५ गते देखि मासिक बचत (दुई वटा पास बुकमा) शुरु गरेर ०७९ भदौको ५ गते सम्म बचत गर्दै आएकी थिइन् । 

उनको सासु एक्कासी प्यारालाइसिस भएपछि रकम आवश्यक भएकोले उनी सहकारीमा बचत रकम माग्न पुगिन् । तर, सहकारीमा पैसा दिन मिल्दैन भन्दै उनलाई पटक–पटक रित्तो हात फर्काइदियो । 

घले भन्छिन् ‘एउटा १५ र अर्को १० बर्षका लागी बचत गर्दै आएको हो, मैले बचत गर्न नसक्ने भएपछि संस्थाको नियम अनुसार जरिवाना काटेर मेरो पैसा फिर्ता मागेको हो । तर, सहकारीले दिनै मिल्दैन् भनेर फर्काइदियो । समस्यामा झन समस्या चुलिएको छ ।’ 

बेसीशहर नपा– ६ घर भएकी सुष्मा आलेको पनि त्यस्तै समस्या छ । उनले पनि सहकारीमा केही समय अघि देखि दैनिक बचत गर्दै आएकी थिइन् । अहिले उनको परिवार केही महिना देखि पोखरामा बासोबास गर्दै आएका छन् । स–परिवार पोखरा जाने भएपछि दैनिक बचत गर्दै आएको यस म्हेन्दो सहकारीमा आफ्नो बचत रकम निकाल्न जाँदा सहकारीका कर्मचारीले तपाईको पैसा अहिले निकाल्न मिल्दैन् भनेर फर्काएको उनले सुनाइन् । 

उनले भनिन् ‘दैनिक घरखर्चबाट कटाएर पछि समस्या पर्दा सजिलो हुन्छ् जस्तो लागेर सहकारीमा दैनिक बचत गर्यो, अहिले चाहिएको बेला सहकारीले दिँदैन् । आफ्नो पैसा अफ्ठयारो परेर माग्दा पाइदैन भने, बचत गर्नुको के फाइदा ? उनले प्रश्न गर्दै भनिन् ।

बेसीशहर नपा– ६ घर भएकी अर्की बचतकर्ता श्रीकला घलेको पनि गुनासो यस्तै छ । १५ बर्षका लागी बचत गरेकी उनले पनि अत्यावश्यक समस्या परेपछि पटक–पटक संस्थाको नियम अनुसार जरिवाना तिरेर आफनो बचत निकाल्छु भन्दा पनि सहकारीले उल्टै मिल्दै मिल्दैन भन्दै फर्काउने गरेको बताइन । उनले प्रश्न गर्दै भनिन् ‘समस्याका बेला नपाउने पैसा बचत गर्नुको के अर्थ ?

यी त प्रतिनिधि पात्र मात्र हुन् । यसरी आफ्नो बचत रकम फिर्ता नपाउने धेरै बचतकर्ता छन् । धेरै बचतकर्ताहरु आफनो समस्या अनुसार पैसा झिक्न जाँदा रित्तो हात फर्किएको गुनासो पोख्छन् । बचतकर्ताको पैसा फिर्ता नहुँदा केहि बचतकर्तामा कतै संस्था नै आर्थिक संकटमा परेर आफनो पैसा नै नउठ्ने पो होकि भन्ने प्रश्न पनि उब्जिन थालेको बताउँछन् । 

यसबारे सहकारीका प्रवन्धक सावित्री तामाङसँग बुझ्दा उनले भनिन् ‘हाम्रो सहकारीको नियम नै यस्तै बनाएको छ । अरु सहकारीको कस्तो छ थाहा भएन । जति वर्षसम्मको लागि बचत गरेको हो, त्यत्ति वर्ष नपुगे सम्म फिर्ता गर्नै मिल्दैनन् ।’

यो बारे जिल्ला बचत संघ लमजुङका अध्यक्ष विजय गुरुङ भन्छन् ‘जुनसुकै सहकारीले आन्तरिक नितिनियम बनाउन पाउँछ् बनाएका पनि छन् । तर, आन्तरिक निति जे बनाएपनि सहकारी ऐनलाई त ख्याल गर्नुपर्छ । हामीलाई पनि यस्ता धेरै गुनासो आएका छन् । हामी छलफलमा छौँ ।’

उता सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले सहकारीले बचत फिर्ता गर्दिन भन्न नमिल्ने बताए । तगारो न्युजसँगको कुरामा उनले भने, ‘संस्था र बचतकर्ता बिच शुरुमा जस्तो सम्झौता भएपनि, बचतकर्ताको समस्यालाई संस्थाले सम्बोधन गर्नुपर्छ, यसरी मिल्दैन, नियम छैन भनेर उम्कन मिल्दैन ।’

एउटा सहकारीले यसो गर्दा बचतकर्तामा सहकारी प्रतिको विश्वास घट्ने भन्दै उनले संस्थाले बचतकर्ताको रकम नियम अनुसार उपलब्ध नगराए बचतकर्ता अन्य कानुनी कारर्बाहिमा तुरुन्तै जान मिल्ने समेत बताए । बचतकर्ताको समस्या र गुनासाबारे विभागलाई समेत पत्रचार भए वा सुचना मिलेमा विभाग पनि तत्काल आवश्यक छानविन र कारर्बाहिमा उत्रने समेत उनले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update