
लमजुङ – आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिएको छ । डाक्टरका अनुसार हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिन्छ । तर, यसपालि भने धेरै ठाउँमा प्रकोपको रुपमा नै सङ्क्रमण फैलिरहेको छ ।
आँखामा सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ । यस्तै, बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या हुने गरेको छ ।
रोग फैलिएसँगै देशभरका आँखा अस्पतालमा बिरामीको भिड बढेको छ । तनहुँ, चितवन, धनुषा, सिन्धुली, नवलपरासी लगायतका केही विद्यालय बन्द भएका छन् ।
धेरै ठाउँमा प्रकोपको रुपमा सङ्क्रमण फैलिरहेकाले महामारी फैलिने खतरा रहेको भन्दै डाक्टरले सावधानी अपनाउन सुझाव दिएका छन् । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलका अनुसार अहिले आँखामा देखिएको सङ्क्रमण सरुवा रोग हो । यो रोगबाट जोगिन हातले आँखा नछुन, बारम्बार हात धुन र सङ्क्रमित बिरामीबाट टाढै रहन डाक्टरको सुझाव छ ।
डाक्टरका अनुसार सामान्यतयता यो रोग एकदेखि दुई हप्ताभित्र निको हुन्छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखामा कुनै पनि समस्या देखिए नजिकैको आँखा अस्पतालमा जँचाएर मात्र औषधि प्रयोग गर्न डाक्टरको आग्रह छ ।
के गर्ने ?
- आँखा चिसोले तथा बरफले सेक्ने
- सफा पानीले आँखा सफा गर्ने
- घर बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने
- सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने
के नगर्ने ?
- सङ्क्रमित आँखालाई सकेसम्म नचलाउने
- स्कुल,कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने
- अरूले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
- आफूखुसी औषधिको प्रयोग नगर्ने