
लमजुङ – २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरीरहेको लिर्वटी इनर्जी कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति प्राप्त गरेको छ ।
विद्युत नियमन आयोगको साउन १५ गतेको निर्णयले कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले साउन ८ गते हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृतिका लागि आयोगमा निवेदन पेस गरेको थियो । कम्पनीले आयोगबाट हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ५० करोडको ५० प्रतिशत अर्थात ७५ करोड रकम बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको हो ।
आयोगबाट पूर्व स्वीकृति पाइसकेको यस कम्पनीले निष्कासनको अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीले जनाएको छ । धितोपत्र बोर्डले स्वीकृति दिएसँगै कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने कम्पनीका सञ्चालक राजेन्द्र वस्तीले बताए ।
कम्पनीको सेयर निष्कासन सँगै लमजुङका स्थानीयहरु जो यसअघि कम्पनीमा सेयर परेको छ उनीहरुले परेको सेयरको ५० प्रतिशत थप गर्न पाउने छन् ।