TagaroNews
मनाङमा भुइँ बारुला खाँदा ८ जना बिरामी, ३ जना सिकिस्त 

बेसीशहर – मनाङमा भुइँ बारुला खाँदा ८ जना बिरामी परेका छन् । बिरामी मध्ये ३ जनाको अवस्था सिकिस्त छ । मनाङको चामे गाउँपालिका–३ कोतोमा मजदुरी गर्दै बस्ने ८ जना मजदुर मंगलबार दिउँसो भुइँ बारुला पोलेर खाँदा बिरामी भएको प्रहरीले जनाएको छ । 

बिरामी हुनेमा २ महिला र ६ जना पुरुष रहेका छन् । जस्मा गोरखाको गण्डकी गाउँपालिका– ५ का ३८ बर्षिय सेते तामाङ, ३८ बर्षिय पहलमान थापा, ४४ बर्षिय दल बहादुर आले, ४० बर्षिय गुन्जमान थापा छन् । यस्तै उदयपुर कटहरी घर भएकी ४७ बर्षिय लिला तामाङ, धादिङ घर भएका ४४ बर्षिय प्रेम बहादुर घले र रोल्पा थवाङ घर भएकी ४७ बर्षिय रामसारी बुढामगर रहेका छन् । 

उनीहरुलाई मुटु दुख्ने, छाती र जीउ पूरै पोल्ने समस्या देखिएको छ । बिरामी मध्ये एक रोल्पा घर भएकी रामसारी बुढामगरको जिल्ला अस्पताल मनाङमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । 

अन्य ७ जनालाई बुधबार दिउँसो लमजुङ स्थित लमजुङ अस्पतालमा ल्याइएको थियो । लमजुङ अस्पतालमा उपचार पश्चात सिकिस्त रहेका ३ जनालाई थप उपचारका लागी भरतपुर चितवन लगिएको छ । सिकिस्त हुनेमा गोरखाका सेते तामाङ, गुन्जमान थापा र टक बहादुर सुनार रहेको प्रहरीले जनाएको छ  । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update