
काठमाडौं - इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर लमजुङे चेली सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् ।
सावित्रा मंगलबार बिहान इजरायल प्रस्थान गरेकी हुन् । उनले त्यहाँ हापोएल रानानाबाट खेल्ने छिन् । सावित्रा युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी हुन् ।
इजरायल एसियाली महादेशमा भए पनि फुटबल भने युरोपमा खेल्ने गर्छ। मालदिभ्सबाट व्यावसायिक खेल जीवन सुरु गरेकी सावित्राले भारतीय लिगमा तीन सिजन बिताइसकेकी छन्। तिनै सिजन क्लबलाई च्याम्पियन बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलिन्।
पछिल्लो सिजन भारतीय लिग (आईडब्ल्यूएल) मा गोकुलम केरला एफसीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी उनले लिगको सर्वाधिक गोलकर्ता बनेकी थिइन्। उनले लिगका १० खेलमा २९ गोल गरेकी थिइन्।
भारतीय शीर्ष लिगमा तहल्का मच्चाएसँगै सावित्राको चर्चा थप चुलिएको छ। राष्ट्रिय टोलीबाट ४५ खेलमा ४४ गोल गरेकी सावित्रा नेपालको सर्वाधिक गोलकर्ता हुन्। घरेलु फुटबलमा एकछत्र राज गरेकी ‘गोल मेसिन’ सावित्रा भण्डारी पहिलोपटक एसियाबाहिर खेल्न लागेकी हुन्।
यो पनि..
व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्रा भण्डारीको बिदाइ