TagaroNews
विद्यालयको रकम पचाएर सुन्दरबजारका पूर्व नगर प्रमुख मिश्र चुपचाप
तस्बिरमा शान्ति मावि कुन्छा र जनकराज मिश्र ।

सुन्दरबजार- नेकपा एमालेका नेता समेत रहेका सुन्दरबजार नगरपालिकाका तत्कालिन नगर प्रमुख जनकराज मिश्रले लमजुङको एक विद्यालयको रकम पचाएर चुपचाप बसेको पाइएको छ । 

सुन्दरबजार नगरपालिका–१ कुन्छामा रहेको शान्ति माध्यमिक विद्यालयको एक लाख ५० हजार रुपैँया मिश्रले लगेर खर्च गरी फिर्ता नगरेको खुल्न आएको हो । मिश्र आफै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र नगरपालिकाको प्रमुख हुँदा लगेको रकम ३ वर्ष बित्दा समेत फिर्ता गरेनन् ।

मिश्रले ०७७ सालमा सो रकम लगेका थिए । यो रकमबारे न कतै निर्णय भएको छ, न त कुनै कागज नै । विद्यालयको आ.व. ०७८/७९ को लेखा परिक्षण (अडिट) गर्दा सो रकमबारे खुल्न आएको विद्यालयका सामाजिक लेखा परिक्षण उपसमितिका संयोजक निलकण्ठ अधिकारीले बताए । 

‘मिश्र त प्रतिनिधि पात्र हुन, विद्यालयको १८ लाख रुपैँया विभिन्न व्यक्तिले खर्च गरेका छन् । को कस्ले कति रकम लगेको लेखाजोखा नहुँदा समस्या भएको छ, विद्यालयका जेष्ठ सदस्य एवं पूर्व अध्यक्ष नारायण बहादुर शाहीले भने, ‘मेरो कार्यकालमा कसैलाई पैसा दिने काम भएन, जति पैसा बाड्ने काम भएको छ, मिश्र जी अध्यक्ष हुँदा नै हो, विद्यालयमा अनियमितता धेरै नै भएको छ । हामी यसको खोजीमा छौँ ।’

तत्कालिन प्रधानाध्यापक ललितबाबु तिवारीसँग यसबारे बुझ्दा उनले भने, ‘जनक सरले पैसा लगेकै हो, त्यत्तिबेला कुनै निर्णय भने, भएन । मलाई सापटी चाहियो भनेर उहाँले रकम लग्नुभयो ।’

यसबारे बुझ्न हालका प्रधानाध्यापक उत्तम बसेललाई फोन गर्दा उनले झर्कदै जवाफ फर्काएर भने, ‘म अहिले मिटिङमा छु, तपाईहरु यसबारे बुझ्न भोलि कार्यालय समयमा आउनु, भन्दै फोन काटे ।’

यसबारे बुझ्दा जनकराज मिश्र भन्छन् ‘तेतिबेला रकम चाहिएकाले मागेकै हो । तत्कालिन प्रधानाध्यापक ललितबाबु तिवारीले पैसा पठाइदिनुभएछ, सायद म नगर प्रमुख भएकाले पनि तमसुक गर्न उचित ठान्नुभएन होला । अहिले सार्वजनीक लेखा परिक्षण गर्दा यो कुरा आयो भन्ने सुने । मलाई यो बारे कसैले पनि सोधेनन् । म सावाँ ब्याज कति छ हिसाब गर्नु भनेको छु सबै तिर्छु ।’

विद्यालयको रकम व्यक्तिलाई दिन मिल्छ ?
विद्यालयको चल्ती खाताको रकम कुनै पनि कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, सदस्य वा कुनै व्यक्तिले चलाउन पाउँदैनन् । 

कुन शिर्षकमा चल्ती खातामा रकम छ त्यो शिर्षकमा खर्च गर्नुपर्छ । चल्ती खाता बाहेक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि, छात्रावृत्ति वा कुनै संस्थाले दिएको रकम हो, भने विद्यालय व्यवस्थापन समितिको निर्णयले व्याजमा रकम सापटी दिन मिल्ने शिक्षा विकास तथा समन्वय ईकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङले बताए । 

सरासर हेर्दा विद्यालयको रकम तत्कालिन समितिकै पदाधिकारीको मिलेमतोमा दुरुपयोग भएको स्पष्ट देखिन्छ । नगर प्रमुख जस्तो ओहोदामा रहेको व्यक्तिले यसरी सरकारी रकम दुरुपयोग गर्दा समेत विद्यालय प्रशासन र तत्कालिन समितिका पदाधिकारी मौन बस्नुले कतै विद्यालयको अन्य स्रोतको पनि दुरुपयोग भएको त छैन भन्ने प्रश्न खडा गरेको छ ।  

केहि थप विवरण अझै खुल्न बाँकी छ । यो विषयमा थप  विस्तृत सामाग्री हामी फलोअप गर्नेछौँ ।  

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update