TagaroNews
लमजुङमा निर्माण व्यवसायीको जिल्ला प्रशासनमा धर्ना
प्ले कार्ड र ब्यानर सहित जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिँदै व्यवसायी ।

बेसीशहर - काम गरेको रकम भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित बनेका छन । 

स्थानीय, प्रदेश र केन्द्र सरकारले निर्माण व्यवसायीको रकम भुक्तानी नगरेको, उपभोक्ता समितिको नाममा साना व्यवसायीहरुलाई कामविहीन बनाएको र मूल्य समायोजन नगरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । 

चरणबद्ध आन्दोलनमा उत्रिएका निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय लमजुङ अगाडि आइतबार धर्ना दिएका छन् । निर्माणका विषयमा सरकार उदासिन रहेको उनीहरुको आरोप छ । 

निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेजी लगाएतका ९ बुँदे माग उनीहरुको छ ।

अध्यक्ष सतिश पराजुलीले व्यवसायीहरूका माग र समस्याका विषयमा पटक–पटक अवगत गराएपनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको बताए । अहिलेसम्म सबैभन्दा ठूलो समस्या नै काम गरेको रकम भुक्तानी नहुँदा भएको व्यवसायीहरुको भनाई छ । 

विकास निर्माणका कामको मूल्य समायोजन नगर्ने तथा अनेक बहाना बनाएर सम्पन्न भएको कामको भुक्तानी रोक्ने र समय थप गर्न आनाकानी गरेकाले चरणबद्ध आन्दोलनमा उत्रिएको संघले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update