TagaroNews
६ दिने इटाली भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री 

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।

साउन ६ गते इटली गएका प्रधानमन्त्रीले भ्रमणका क्रममा ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए ।

सो क्रममा प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गरेका थिए । सो अवसरमा उनले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताएका थिए ।

रोममा रहँदा प्रधानमन्त्रीले बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू तथा इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी)का प्रमुख एल्भारो लाइरोले बेग्ला–बेग्लै भेटवार्ता गरेका थिए । रोममा रहँदा उनले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका थिए ।

भ्रमणका दौरान प्रधानमन्त्री दाहालले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गरेका थिए । सो अवसरमा उनले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा दृढताका साथ अगाडि बढेको बताएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update