
लमजुङ - अमेरिका पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले लमजुङका एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–१ भारते घर भई हाल बनस्थली ढुंगेधारा बस्ने २८ वर्षीय सुजन अधिकारी रहेका छन् ।
अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोह्रखुट्टेबाट पक्राउ गरेको हो । अधिकारीले नुमा केसीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाई दिने भन्दै २० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
अधिकारीले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।
पक्राउ परेका अधिकारीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक तथा प्रवक्ता रबिन्द्र रेग्मीले जानकारी दिए ।