TagaroNews
सुनसहितको ब्रेक शुको तौल १५५ किलो, सुन कति होला ?

काठमाडौं - राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले जोखेर भ्याएको छ ।

राष्ट्रबैंकले ती ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ । ‘कुल एक सय ६० वटा ब्रेक सु फेला परेको थियो, तीमध्ये एउटाबाहेक सबैमा सुन रहेको पाइयो,’ विभागको भनाई छ । अब ती ब्रेक सुबाट सुन निकालेर जोखिने छ ।

राजस्व अनुसन्धान विभागले मंगलवार काठमाडौंको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो । ती ब्रेक सुमा १०० किलोग्रामभन्दा बढी सुन भएको अनुमान विभागको छ । राष्ट्रबैंकले सुनमात्रै जोखेपछि मात्रै यसको वास्तविक तौल थाहा हुनेछ ।

एक चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेका छन् ।

नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको हो । यस्तै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । त्यो सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता रहेको राजश्व अनुसन्धान विभागको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update