TagaroNews
महिला उद्यमी कर्जाको नाममा प्रभु बैंक बेसीशहर शाखाको बदमासी
प्रभु बैंक लिमिटेड बेसीशहर शाखा कार्यालय ।

बेसीशहर - लमजुङमा महिला उद्यमीको नाममा दिइने सहुलियतपूर्ण कर्जामा प्रभु बैंक लिमिटेड बेसीशहर शाखाले बदमासी गरेको भेटिएको छ । लमजुङको बेसीशहर नपा– ११ चिति तिलहारमा सिद्धबाबा ग्रिल सटर उद्योग व्यवसाय देखाउनको लागी मात्र खडा गरेर महिला उद्यमी सहुलियतपूर्ण कर्जाको लागी व्यवसायीसँग बैंकको कर्मचारीको मिलेमतोमा बदमासी गरेको पाइएको हो । 

उत्त ग्रिल सटर उद्योग चितिकी प्रतिक्षा पाण्डेको नाममा गत ०७७ साल मंसिर १६ गते घरेलु तथा साना उद्योग कार्यालय (हाल उद्योग तथा पर्यटन कार्यालय) लमजुङमा दर्ता भएको देखिन्छ । 

उद्योग सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार शुरुको मिति हेर्दा ०७७ मंसिर १७ देखि गरेको दर्ता कागजमा उल्लेख छ । तर, यो उद्योग पाण्डे दम्पतीले सञ्चालन नै गरेनन् । चितिकै अर्का स्थानीय निर्मल थापाले केहि समय चलाए पनि लामो समयदेखी यो उद्योग बन्द रहेको स्थानीय बताउँछन् । 

चितिमा निर्मल थापाले चलाएको भनिएको बन्द ग्रिल उद्योग । 

बैंकको बदमासी
बेसीशहर नपा–११ चिति तिलहारमा प्रतिक्षा पाण्डेको नाममा दर्ता भएको सिद्धबाबा ग्रिल सटर उद्योगको नाममा बैंकले तीन वर्ष अगाडी १५ लाख रुपैँया महिला उद्यमी सहुलियत कर्जा दिएको छ । जुन ग्रिल उद्योग नै सञ्चालनमा छैन् ।

सरासर हेर्दा महिला उद्यमी सहुलियत कर्जा लिनका लागि मात्र ग्रिल सटर उद्योग दर्ता गरेको प्रष्ट देख्न सकिन्छ । किनकी यो कर्जाका लागी योग्य हुन् महिलाको नाममा उद्योग दर्ता भई कम्तिमा एक वर्ष सञ्चालन गरेको हुनुपर्छ । तर, यो उद्योग दर्ता गरेको केही दिन नबित्दै कर्जा दिइएको  छ । 

बैंकको कर्मचारीकै मिलेमतोमा कागजी रुपमा उद्योग दर्ता मात्र गरेर कर्जा दिएको खुल्न आएको छ । बैंकले उक्त उद्योगलाई कर्जा दिएको ३ बर्ष पुरा भैसकेको छ । नियम अनुसार बैंकले हरेक ३/३ महिनामा अनुगमन गर्नुपर्ने हो तर, अहिलेसम्म जम्मा ३ पटक मात्र अनुगमन गरेको बैंकका शाखाका प्रमुख ग्रीवन ढुङ्गानाले बताए । 

देखाउनका लागी मात्र व्यवसाय खडा गरेको भन्ने कसरी बुझ्न सकिन्छ भने, बैंकले अनुगमन गर्दा देखाउनको लागी भनी उनीहरुले बेसीशहर नपा–८ शेरा स्थित एक ग्रील उद्योगमा बोर्ड (ब्यानर) टाँगेर बैंकलाई नै झुक्काएका छन् । यसबारे बैंकसँग बुझ्दा शाखा प्रमुख ढुङ्गानाले आफुलाई थाहा नभएको बताए । 

बेसीशहर नपा–८ शेरा स्थित एक ग्रील उद्योगमा सिद्धबाबाको ब्यानर ।

महिला उद्यमी कर्जा कस्तालाई दिन मिल्छ ? 
यो कर्जाका लागी योग्य हुन् महिलाको नाममा उद्योग दर्ता भई कम्तिमा एक वर्ष सञ्चालन गरेको हुनुपर्छ । उद्योगको आम्दानी र संरचनाको मुल्याङ्कन अनुसार कर्जा दिने गरिन्छ । महिला उद्यमी कर्जा सहुलियत कर्जा भएकोले जस्तोसुकै उद्यमीलाई दिन मिल्दैन् । बैँकले कर्जा दिइसकेपछि ३/३ महिनामा अनुगमन गर्नुपर्छ । 

यदि कर्जा लिईसकेका उद्यमीले कर्जा चुक्ताको अवधि अगाडी नै कुनै कारणवश उद्योग बन्द गर्नुपर्ने भए वा उद्योग सञ्चालन गर्न सकेन भने उद्यमीले लिएको पुरै कर्जा बैंकलाई चुक्ता गर्नुपर्ने प्रावधान छ । 

यो त एक उदहारण मात्र हो । बैंकका कर्मचारीको बदमासीका कारण सहुलियतपूर्ण कर्जा धेरै लक्षित वर्गसम्म पुग्न सकेको छैन । सरकारले कर्जा दुरुपयोग गर्ने र गराउनेलाई जबसम्म कानुनी बन्दनमा बाँध्दैन, तवसम्म यस्ता दुरुपयोगहरु नरोकिने देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update