TagaroNews
मनाङ पुग्यो ‘लम्पी स्किन’ रोग, महामारी नै हो त ?
मनाङमा गोरुमा लम्पी स्किन रोगको लक्षणसँगै खोप लगाउँदै पशु चिकित्सक ।

मनाङ - नेपालका गाईभैँसीमा देखिएको लम्पी स्किन (छालामा हुने गिर्खे रोग) को महामारी अहिले तीव्र रूपमा फैलिरहेको छ । ७६ जिल्लामा देखीएको यस रोगको संक्रमण हिमाली जिल्ला मनाङमा समेत देखा परेपछि अहिले यो रोगबाट कुनै जिल्ला अछुतो छैन् । 

मनाङका गोरुमा समेत लम्पी स्किन रोग देखा परेको हो । मनाङको चामे गाउँपालिका–२, थानचोकमा पालिएका गोरुहरुमा लम्पी स्किनको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ । केन्द्रका अनुसार गोरुमा १ सय ४ डिग्रीको ज्वरो आउने र छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको छ । बिरामी गोरुले घाँस खान समेत समस्या हुने गरेको पशु चिकित्सकहरु बताउँछन् ।

किसानले गोरु बिरामी भएको खबर गरेपछि उपचार गर्न जाँदा गोरुहरुमा लम्पी स्किन रोगको लक्षण देखिएको केन्द्रका पशु चिकित्सक नारायण कुसुमले बताए । उनका अनुसार गोरुमा लम्पी स्किन रोगको उपचार सुरु गरिएको छ । यसअघि मनाङ जिल्लामा लम्पी स्किन रोग देखा परेको थिएन ।

मनाङमा २ हजार डोज लम्पी स्किन रोग विरुद्धको खोप ल्याएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ । लक्षण देखा परेसँगै गाई गोरुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बिशेष गरी चामे गाउँपालिका र नासोँ गाउँपालिकामा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने काम भैरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ । केन्द्रका तथ्याङ्क अनुसार मनाङमा गाईगोरु मात्रै १ हजार ५ सय बढी छन् ।

गण्डकीले छुट्यायो १६ करोड बजेट
गण्डकी प्रदेश सरकारले पशुमा देखिएको लम्पी स्किन डिजिज रोगको खोपको लागि बजेट विनियोजन गरेको छ । शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा उक्त रोगको पुर्ण खोप कार्यक्रमको लागि १६ करोड ३५ लाख बजेट विनियोजना गरेको प्रदेशको आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले बताए ।

‘लम्पी स्किन डिजिज लगायत विभिन्न समयमा पशुमा आउन सक्ने महामारीजन्य रोगको रोकथामका लागि प्रदेशका सबै स्थानीय तहमा पशुको पूर्णखोप कार्यक्रम सञ्चालनका लागि १६ करोड ३५ लाख बजेट विनियोजन गरेको छु,’ आर्थिक मामिलामन्त्री आलेले भने ।

यो महामारी नै हो त ?
पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले अनुसार प्रभावित हुनेमा हिमाल, पहाड र तराई सबैतिरका जिल्ला रहेका छन् । ‘थोरै समयमा यति ठूलो क्षेत्रमा फैलिनु भनेको यो महामारी नै हो,’ विभागका सूचना अधिकारी समेत रहेका ढकालले थपे ।

लम्पी स्किन रोगका कारण मर्नेमा प्रायः गोरु, भर्खरै जन्मेका बाच्छाबाच्छी, पाडापाडी, गर्भवती र हालै ब्याएका गाईभैँसी छन् । उनले लम्पी स्किन रोगले अहिले पारेको असरलाई कम ठान्न नहुने भन्दै सचेत रहन समेत भने ।

उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसलाई गम्भीर रूपमै लिनुपर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update