
लमजुङ – गत मंगलबार १२ वर्षिय एक बालिकालाई पौडी खेल्ने क्रममा खुदी खोलाले बगाएर बेपत्ता बनायो । मर्स्याङदी गाउँपालिका वडा नं. ९ र ३ को सिमा भएर बग्ने खुदी खोलाले बगाएकी रोशनी लामा अझै फेला परेकी छैनन् ।
खोलाले बगाएकी लामा वडा नं. ३ खुदी पूरानो बजारकी हुन् । उनलाई पौडी खेल्ने क्रममा मंगलबार दिउँसो ४ बजेतिर खोलाले बगाएको थियो । उनीसँगै पौडी खेल्न गएका १३ बर्षका बबिता तामाङ र उषा न्यौपाने भने, बग्नबाट बच्न सफल भएका थिए ।
बबिता पौडी खेलेर ढुङ्गामाथी भएका कारण बचिन भने, उषालाई बगाएर केही तल पुर्याउँदा नै खोलामा माछा मार्दै गरेका हरि सन्यासीले थाहा पाएर बचाएका थिए ।
सो खोलामा ४ मेगावाटको खुदी खोला जलविद्युत आयोजना सञ्चालनमा छ । सोही आयोजनाले बिना सूचना खोलामा पानी छोड्दा बालिका बगाएको स्थानीयहरुले आरोप लगाएका छन् ।
सोही दिन माछा मार्न गएका मर्स्याङदी गापा–२ प्रोबीका हरि सन्यासीले भने, ‘म माछा मार्दै गर्दा खोला सानो थियो, एक्कासी खोला ठुलो भएर आयो, माथि हेर्दा दुई जना बालिकालाई भुमरीमा घुमाई रहेको देखेँ, एउटालाई पौडी खेलेर बचाएँ भने अर्को नानीलाई बगाई हाल्यो बचाउनै सकिन, हेर्दाहेर्दै बगाएर मस्र्याङ्दीमा मिसाइहाल्यो ।’ सानो खोलामा एक्कासी आयोजनाले पानी छोड्दा नै उनीहरुलाई खोलाको बेगले हुत्ताएको उनले सुनाए ।
खुदीका अर्का स्थानीय सोम तामाङ भन्छन् ‘खुदी जलविद्युत आयोजनाले ड्यामबाट पानी खोल्दा अहिले सम्म न साइरन नै बजाएको छ् नत कुनै सुचना नै दिन्छ । त्यो दिन पनि आयोजनाले विना सूचना पानी खोलेको हो, त्यही कारण बालिका बगायो, अन्य छिमेकीहरु पनि त्यही भन्छन् ।’ खुदीका प्राय स्थानीयको भनाई खुदी हाइड्रोले बिना सूचना पानी छोड्दा नै खोलले बालिका बगाएको भन्ने नै छ ।
यसबारे खुदी जलविद्युत आयोजना सरोकार समितिका अध्यक्ष राम थापासँग कुरा गर्दा उनले भने, ‘आयोजनाले साइरन बजाउने र सूचना दिने काम त गरेको छैन्, यदि आयोजनाले गर्दा नै बालिकालाई खोलाले बगाएको हो भने, आयोजना पक्ष जिम्मेवार हुनुपर्छ ।’ हरेक महिनाको १० गते सरोकार समितिको बैठक हुने र आगामी बैठकमा यसबारे छलफल गर्ने उनले बताए ।
आयोजनाबारे आएको गुनासो र आरोप प्रति आयोजना इन्चार्ज दीपक भण्डारी भन्छन् ‘आयोजनाले खोलामा बाढी आउँदा वा पानी छोड्दा साइरन र सूचना दिने गरेको त छैन् तर, ३३ केभिको लाइन जाने वित्तिकै आयोजनाको प्लान्ट आफै बन्द हुन्छ । सोही कारण ड्याममा पानीको ओभरफ्लो भएको होला । हामीले पानी छोडेको हैन ।’
मस्र्याङ्दी ३ का वडा अध्यक्ष दुधमान तामाङले भने, ‘आयोजनाको बारे गुनासो त धेरै आएको छ, यसरी बिना सूचना पानी छोड्ने काम आयोजनाको पनि गल्ति हो, यता बालबालिकाको निगरानी नगर्नु अभिभावकको समेत गल्ति हो ।’ उनले आएका गुनासोबारे सरोकार समितिका अध्यक्षलाई जानकारी गराइसकेको समेत बताए ।
खुदी आयोजनाको बाँध क्षेत्र घनपोखरा स्थित घोप्टे फेदीमा रहेको छ । आयोजनाले साँढे २ किलोमिटर पेनस्टक पाइप मार्फत आयोजनाको पावरहाउसमा पानी खसालेको छ । यो आयोजना २०६३ पुस १५ गते देखि सञ्चालनमा आएको हो । आयोजनामा बुटवल पावर कम्पनीको ६०, एचसीटीएचआई क्यानडाको २५ र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को १५ प्रतिशत लगानी छ ।
यो पनि.....
लमजुङको खुदी खोलाले बगाउँदा एक बालिका बेपत्ता