TagaroNews
न्यूनतम पारिश्रमिक २५ हजार कायम गर्न ट्रेड युनियन कांग्रेस लमजुङको माग
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियन काँग्रेस लमजुङका अध्यक्ष तिवारी ।

बेसीशहर -  न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ कायम गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसको शुभेच्छुक संस्था  ट्रेड युनियन कांग्रेस लमजुङले ज्ञापनपत्र बुझाएको छ । 

न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ कायम गर्नका लागि दबाव सृजना गर्न प्रमुख जिल्ला अधिकारी मार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति लमजुङका अध्यक्ष तिर्थराज तिवारीले बताए । उनका अनुसार वर्तमान समयको मूल्य वृद्धि र महंगीलाई ध्यानमा राखी श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार कायम गरिनुपर्ने ट्रेड युनियन कांग्रेसको माग छ । 

यसकै दबाब स्वरूप बिहिबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीेलाई ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति लमजुङले ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापन–पत्रमा भनिएको छ ‘वर्तमान समयको मूल्य वृद्धि र महँगीलाई समेत ध्यानमा राखी नेपाल ट्रेड युनियन कांग्रेसले मिति ०८० असार ४–६ सम्म काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा व्यापक छलफल गरी कम्तीमा श्रमिकको पारिश्रमिक न्यूनतम् मासिक २५ हजार रुपैयाँ हुनुपर्ने निर्णय गरेको छ ।’

यही निर्णयअनुसार विभिन्न छलफल र संवादमा समेत यही अडान राख्दै आएको छ । यसको निमित्त उत्पादकत्व वृद्धि कार्ययोजनामा पूर्ण सहयोग गर्न नेपाल ट्रेड युनियन कांग्रेस प्रतिबद्ध रहेको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको अध्यक्ष तिवारीले बताए ।

नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्येक दुई/दुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागु गर्नुपर्ने उनको भनाइ छ ।

आकासिँदो महङ्गीको वर्तमान अवस्थालाई ध्यानमा राखेर श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ निर्धारण नभए कडा कदम चाल्ने नेपाल ट्रेड युनियन कांग्रेस लमजुङले जनाएको छ ।  

 
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update