TagaroNews
त्रिभुवन आर्मी क्लबले भारतमा डुरान्ड कप फुटबल खेल्ने

काठमाडौं - विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा हुने डुरान्ड कप फुटबल प्रतियोगिता खेल्ने भएको छ । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको डुरान्ड कपमा २७ वर्षपछि विदेशी क्लब सहभागी हुँदा नेपालबाट आर्मीले खेल्न लागेको हो । प्रतियोगितामा भुटान र बंगलादेशका एक–एक टिम पनि सहभागी रहने छन् ।

डुरान्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल महासंघ (एआईआईएफ) को आयोजनामा हुने प्रतियोगितामा इन्डियन सुपर लिग (आईएस), आई लिगका क्लबहरुसहित कूल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

आर्मी रहेको समूह आईएसएल क्लब हैदरावाद एफसी र चेन्नाइयीन एफसी तथा आई लिगको दिल्ली एफसी रहेको जनाइएको छ । सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइनेछ । समूहका विजेता र उपविजेता नकआउट स्टेजमा पुग्ने छन् ।

प्रतियोगिता आगामी अगष्ट ३ देखि सेप्टेम्बर ३ सम्म कोलकतामा आयोजना हुनेछ । प्रतियोगिताको विजेताले ६३ हजार अमेरिकी डलर पुरस्कार पाउने छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update