
सुन्दरबजार – लमजुङको सुन्दरबजार नगरपालिकाले निर्माण व्यवसायी सुमन पौडेललाई उत्कृष्ट निर्माण व्यवसायीको रुपमा सम्मान गरेको छ । तनहुँको भानु नगरपालिका–११ रुपाकोट निवासी पौडेललाई नगरपालिकाले नगर सभा (१२ औँ अधिवेशन) को अवसरमा सोमबार आव ०७९/०८० को उत्कृष्ट निर्माण व्यवसायी सम्मान गरेको हो ।
नगरभित्रको निर्माण कार्यको मुल्याङ्कन गर्दा पौडेलको सुबील निर्माण सेवाले निर्माण गरेको खत्रीठाँटी पाउँदीपुल देखी तिलक स्मृति गेट परेवाडाँडा सम्मको पिच (कालोपत्र) सडक यसबर्ष उत्कृष्ट रहेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए ।
सो सडक ७१ लाख रुपैँया (भ्याट सहित) मा करिब ४ सय ५० मिटर कालोपत्र र ६० मिटर ढलान गरिएको छ । विगत एक दशकदेखी निर्माण सेवामा लागेका पौडेलले आफनै निर्माण सेवाबाट गरेको यो पहिलो काम भएको बताए ।
पौडेलललाई नगरप्रमुख कृष्णप्रसाद कोइरालाले दोसल्लाह ओढाएर नगद र सम्मानपत्रले सम्मान गरेका थिए । सम्मान कार्यले काममा थप जोश र इमानदारिता बढाएको व्यवसायी पौडेलले बताए ।
सो अवसरमा पालिकाले उत्कृष्ट कर्मचारी, कृषक, स्वास्थ्य र शिक्षाका कर्मचारीलाई समेत सम्मान गरेको जनाएको छ ।