TagaroNews
इमर्जिङ टिम्स एसिया कप खेल्न नेपाली टोली श्रीलंका जाँदै

काठमाडौं - श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो । इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ ।  टोली आजै श्रीलंका प्रस्थान गर्ने छ । नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् ।

नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् ।

यसअघि टोलीमा समावेश गरिएका आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि उनको ठाउँमा पवन सर्राफलाई टिममा राखिएको नेपाली टोलीका मुख्य छनोटकर्ता दिपेन्द्र चौधरीले जानकारी दिएका छन् ।

टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन् । यस्तै रोहितकुमार पौडेल कप्तान रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल,  गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो  छन् ।

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी–२० लिग क्यानडा खेल्न जाने भएकाले टिममा छैनन् । यस्तै ज्ञानेन्द्र मल्ल र करण केसी टिममा छैनन् । 
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update