TagaroNews
लमजुङको शीतलपाटी–नाल्माफेदी सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन आगामी बर्षमै

पोखरा – गण्डकी प्रदेश सरकारले लमजुङको शीतलपाटी–नाल्माफेदी सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन आगामी बर्षमै गर्ने भएको छ । तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने भनिएकोमा लमजुङको शीतलपाटी–नाल्फाफेदी सुरुङमार्ग एक हो । 

लमजुङ सँगै छिमेकी जिल्ला तनहुँको भिमादबाट नवलपुरको डेढगाउँ र डेढगाउँ–झ्यालबास सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन आगामी आर्थिक वर्षमा सुरु गरिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयका प्रवक्ता टीकाराम पौडेलले बताए । उनका अनुसार नयाँ आर्थिक वर्ष लागेसँगै आवश्यक प्रक्रिया पुर्याएर अध्ययनको काम अगाडि बढ्नेछ ।

यी सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययनका लागि रु ६० लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले विकासको दीर्घकालीन सोच राखेर सुरुङमार्ग अध्ययनलाई नीति, कार्यक्रम तथा बजेटमै समावेश गरेको र विज्ञसँगको राय–परामर्शमा छिट्टै अध्ययनको काम थाल्ने प्रवक्ता पौडेलले बताए । 

प्रदेश सरकारको शीतलपाटी–नाल्माफेदी सुरुङमार्गको सम्भाव्यता अध्ययनको कुरामा जिल्लाबासीको चासो बढेको छ । यो बारेमा लमजुङबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुलाई समेत स्थानीयले बिशेष पहल गर्न अनुरोध गरेको सांसदहरु बताउँछन् । 

घुमाउरा सडक भएको र लामो दुरीको पहाडी भूगोलमा सुरुङमार्ग निर्माणले जिल्लाबासीलाई निकै सहज र सरल हुने अपेक्षा गरिएको छ । सडक विभागले ‘सुरुङमार्ग विकास कार्यक्रम’ मार्फत सुरुङमार्गको निर्माण र सम्भाव्यता अध्ययनको काम गर्दै आएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update