TagaroNews
तल्लो मनाङका किसानलाई रैथाने बाली भित्र्याउने चटारो 
नासोँ गाउँपालिका - ६ तिल्चेका किसान उवा काट्दै र सुकाउँदै ।

मनाङ -  हिमाली जिल्ला मनाङका किसानहरुलाई रैथाने बालि भित्र्याउने चटारो शुरु भएको छ । तल्लो मनाङको नासोँ र चामे गाउँपालिकाका किसानले रैथाने मध्यका करु र उवा खेती भित्र्याउन थालेका हुन् । 

तल्लो भेगमा चैतमा लगाइएको बाली वर्षायामसँगै पाकेर पहेँलपुर भएका करु र उवा काटेर अहिले भित्र्याउने चलन छ । मनाङमा धान उत्पादन नहुने भएकाले पनि करु र उवा बढी मात्रामा लगाइने किसानहरु बताउँछन् । यो गहुँकै एक प्रजातीको बाली हो । 

मुख्य बालीको रुपमा रहेको करु र उवाबाट बढी मात्रामा ढिडो, रोटी र लोकल रक्सी बनाउने चलन छ । मनाङ भित्रने आन्तरिक तथा बाह्य पर्यटकलाई यसबाट बनेका परिकार खुलाउने मनाङेको प्रचलन नै छ ।

चामे गाउँपालिका - २ थानचोकमा पाकिसकेको उवा बाली ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार उवा र करु प्रतिहेक्टर २ मेट्रिकटन भन्दा बढी उत्पादन हुने गरेको छ। मनाङको माथिल्लो क्षेत्र ङिस्याङ र नार्पाभूपी गाउँपालिकामा भने, बालीहरु ढिलो गरी पाक्छ । 

मनाङको मुख्य बाली भनेकै फापर, उवा, करु र गहुँ हो । यसका साथै आलुखेती गरेकाले पनि अहिले स्याहर्दै छन् । फापर प्रतिहेक्टर २ मेट्रिकटन उत्पादन हुन्छ भने, आलु प्रतिहेक्टर १२ मेट्रिक्टनसम्म उत्पादन हुने गरेको ज्ञान केन्द्र मनाङका बाली संरक्षण अधिकृत घनश्याम गैरेले बताए । मनाङमा उत्पादित आलु स्वादिष्ट रहेकाले पनि माग उच्च रहेको किसानहरु बताउँछन् । 

चामे गाउँपालिकाको थानचोक, तिमाङ र चामे र नासोँ गाउँपालिकाको ताचै, तिल्चे र नाचेका किसानहरु सामुहिक रुपमा खेती भित्र्याउन ब्यस्त छन् । तल्लो मनाङलाई अन्न भन्डारका रुपमा पनि चिनिन्छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update