TagaroNews
पाउँदी–बेसीशहर सडक टालटुलमा ठेकेदारको लापरर्बाही, केहीदिनमै उप्केपछि गुणस्तर माथि प्रश्न ?
बेसीशहर नपा-३ बोहोराबेसी स्थित टालटुल भत्किएको सडक ।

बेसीशहर – केही समय अघि डुम्रे–बेसीशहर सडक खण्ड अन्तर्गत (लमजुङ खण्ड) पाउँदी देखी सदरमुकाम बेसीशहर सम्म गरिएको सडक टालटुलको गुणस्तरमा स्थानीयले प्रश्न खडा गरेका छन् । कालोपत्रे सडक टालटुल गरेको केही समयमै उप्कन थालेपछि गुणस्तरमा प्रश्न उठेको हो ।

‘सडक हरेक बर्ष टालटुल गर्ने भन्दै बजेट आउँछ, असार मसान्तको नजिक लगेर सम्झौता गर्छन्, बेसीशहर नपा– २ भकुण्डेका स्थानीय गणेश कडेँलले भने, ‘न यो बेलको काममा गुणस्तर छ, नत उचित अनुगमन नै गर्छन् । यो त सरासर असारे विकास भन्दै बजेट पचाउने खेलो हो । खै टलटुलमा गुणस्तर ? उनले प्रश्न गरे । 

सडक खण्डका सवारी चालक आशिष तामाङले भने ‘टालटुल गरेको महिना दिन नपुग्दै उप्कने यो कस्तो टालटुल हो, यस्को गुणस्तरबारे अनुगमन हुँदैन ? उनले झन प्रश्न गर्दै भने, 'यो त झाराटार्ने काम भएन र ?'  यो मात्र होइन अधिकांश स्थानीयको यस्तै प्रश्न छ । टालटुल भएको सडक प्राय धेरैै ठाउँमा भत्किसकेको छ ।

सडक टालटुलका लागी डुम्रे बेसीशहर–चामे सडक योजनासँग ०७९ साल फागुन ३ गते श्रयस कन्ट्रक्सन कम्पनी प्रा.ली. काठमाडौंले ठेक्का सम्झौता गरी काम अघि बढाएको हो । 

१ करोड ७० लाख ८ हजार ३ सय ६४ रुपैँया (भ्याट बाहेक)मा सम्झौता गरी काम अघि बढेपनि ठेकेदार कम्पनीले समयमै काम नसकेकाले म्याद थप गर्ने सडक योजनाले जनाएको छ । 

यता सडकको कामबारे ठेकेदार कम्पनीसँग बुझ्दा सञ्चालक सुरेश धितालले भने, ‘पानी जमेको ठाउँ र घुम्ती तिर भत्किएको होला, काम अझै बाँकी नै छ, हामी म्याद थपेपछि थप मर्मत गर्नेछौँ ।’ सदरमुकाम बेसीशहरको झिँगे खोला माथिको क्षेत्रमा अझै काम बाँकी नै रहेको उनले सुनाए । 

‘बर्खाको समय भएकाले हामीले केहि समय अघि नै काम रोक्न लगाएको हो, सडकका इन्जिनियर प्रतिक प्रधानले भने, ‘पानीले गर्दा पनि टालटुल भत्कियो होला, अब म्याद थप गरी भत्केको ठाउँमा पुनः मर्मत गर्न लगाउँछौँ ।’

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update