TagaroNews
मनाङका कृषकः पम्परागत खेती छोड्दै, उच्च प्रविधिको स्याउ रोप्दै
घेलानचोकमा रहेको आफनो स्याउ फार्मसँगै संगिता गुरुङ ।

मनाङ – मनाङको तल्लो क्षेत्र नासोँ गाउँपालिका वडा नं. ४ घेलानचोकका राम प्रसाद गुरुङका परिवारले आफना खेतबारीमा परम्परागत खेती नै गर्दै आएका थिए । उनीहरुले लोकल स्याउ, मकै, भट्मास, आलु र राजमाको खेती गर्थे । परम्परागत यी बालीमा मेहनत गर्दै आएका उनका परिवारले खासै आम्दानी लिन सकेनन् । 

परम्परागत खेतीबालीबाट मेहनत अनुसारको फल नमिलेपछि अहिले उनीहरुले उच्च प्रविधिको स्याउ खेती विस्तार गरेका छन् । शुरुवाती रुपमा ४ रोपनी क्षेत्रफमा उच्च प्रविधिको ‘हाई डेन्सिटि एम्पल फर्म’को विस्तार गरेको राम प्रसादले बताए ।  उनीहरुले इटाली र सर्बियाबाट ल्याइएको धेरै फल दिने फुजी, गाला,  गोल्डेन र रेड डिलिसिस जातका स्याउ खेती बिस्तार गरेका छन् । 

आफनो फार्ममा फल्दै गरेको स्याउसँगै राम प्रसाद गुरुङ ।

४ बर्ष अघि बिस्तार गरेको स्याउ खेतीबाट अहिले फल दिन थालेको यो दोस्रो बर्ष हो । यो प्रजातिको स्याउको बोटले दुई वर्ष देखिबाटै फलदिन सुरु गर्ने र प्रत्येक बर्ष उत्पादन बढ्दै जाने भएकाले पनि यो प्रजातिको स्याउखेती तर्फ लगाभ बढेको छोरी संगिता गुरुङले बताइन् । उनले भनिन् ‘लगाएको ४ बर्ष भयो, अघिल्लो बर्षबाट नै फल दिन सुरु गरेको हो, लगानी त झण्डै १० लाख बढी नै छ, तर, उत्पादन राम्रो हुने भएपछि चिन्ता छैन् ।’

राम प्रसादको परिवारको त उदाहरण मात्र हो, अहिले प्राय किसानहरुले परम्परागत खेतीलाई विस्तापित गर्दै यस प्रविधिको स्याउ खेतीमै लागेका छन् । जति चिसो त्यति नै सप्रिने स्याउको बिरुवा भएकाले अनुकूल वातावरण पाए एउटै बोटले ४५ किलोसम्म उत्पादन दिन सक्ने कृषि प्राविधिकहरु बताउँछन् । 

मनाङमा प्राय कृषकहरुले यो प्रविधिको स्याउको उत्पादनमा जोड दिएको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश्वर सिलवालले बताए । 

यस प्रविधिको स्याउको सुरुवात र विकास

यस प्रविधिको स्याउ उत्पादनको पहिलो सुरुवात एग्रो मनाङ प्रालीले गरेको हो । मनाङको ङिस्याङ गाउँपालिका–१, भ्राताङमा एग्रो मनाङ प्रालिले ७ सय ३५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेको छ । यहाँ गाला, गोल्डेन र फुजी गरी ३ थरिका स्याउ फलेको छ । स्याउ टिप्नमात्रै १ देखि डेढमहिना समय लाग्छ । यसवर्ष ४ सय ५० मेट्रिक टन बढी स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ । 

गतवर्ष चारसय मेट्रिक टन बढी स्याउ उत्पादन भएको थियो । स्याउबाट वार्षिक ५ करोडमाथि आम्दानी हुन्छ । पूर्वसांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्भियाबाट स्याउको बेर्ना ल्याएर स्याउ खेती थालेका हुन् । एग्रो मनाङको स्याउ काठमाडौं, पोखरा लगायत ठूला–ठूला डिमार्टमेन्ट स्टोर्स तथा होटलमा बिक्री हुन्छ । ‘हाइडेन्सिटी’ प्रविधिबाट फलाइएको स्याउ ‘हिमालयन फ्रेस’ ब्रान्डबाट बजारमा बिक्री भइरहेको छ ।

समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाइको भ्राताङमा स्याउ फलेको ७ वर्ष भयो । स्याउलाई स्टोर गर्न भ्राताङ, बेसीशहर र काठमाडौंमा कोल्ड स्टोर्स (चिस्यान केन्द्र) निर्माण गरिएको छ । एग्रो मनाङले हालसम्म २ करोड २४ लाख अनुदान सहयोग पाएको छ । 

‘अहिले पनि नेपालमा बाहिरी देशबाट १३ सय करोड रुपैयाँको स्याउ आयत हुन्छ । करोडौं रकम बाहिर गएको छ’, पूर्वसांसद पोल्देन छेपाङ गुरुङले भने, ‘हिमाली क्षेत्रहरूमा यसैगरी फर्म सञ्चालन गर्न सके आयत रोकेर निर्यात गराउन सकिन्छ।’ यो प्रजातिको स्याउ नेपालमै पहिलो पटक रोपिएको र  ठूलो क्षेत्रमा रहेको स्याउ फार्म साउथ एसियामै ठूलो रहेको उनको दावी छ ।

फार्ममा उत्पादित स्याउ भारतको कोलकाता हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्ने योजना रहेको एग्रो मनाङ प्रलिका अध्यक्ष सोमराज गुरुङले बताए । ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइएको छ । सत्ताइस वर्षका लागि १२ करोड ९१ लाख ११ हजार रुपैयाँ भाडा तिर्ने गरी भाडामा लिएर स्याउ खेती अघि बढाइएको यस फार्ममा अहिलेसम्म ३० करोड रुपैयाँ लगानी भएको अध्यक्ष गुरुङले बताए ।

एग्रो मनाङले उत्पादन गर्ने स्याउ क्रमशः गाला, गोल्डेन र फुजी। 

गुरुङका अनुसार स्याउ खेतीका लागि शुरुमा हिमाली परियोजनाले २ करोड २४ लाख रुपैयाँ अनुदान दिएको थियो । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान छ । बाँकी लगानी बैंकतिरबाट जुटाइएको उनले सुनाए । फार्ममा रहेका ६२ हजारमध्ये धेरै बिरुवाले उत्पादन दिन थालेका छन् । केही बिरुवा प्रत्येक वर्ष थप्ने गरिएको छ । फार्ममा प्रत्यक्ष ३०/३२ जनाले काम गरिरहेका छन् । 

स्याउको बिस्तार कति भयो ?

कृषि ज्ञान केन्द्र मनाङको तथ्याङ्क अनुसार १३ हजार बढी क्षेत्रफलमा यो प्रविधिको स्याउ खेती बिस्तार भैसकेको छ । ज्ञान केन्द्रले पछिल्लो समय कृषक छनोट गरी व्यवस्थापनमा ५० र बिरुवामा ७५ प्रतिशत अनुदान समेत उपलब्ध गराएको जनाएको छ । राम्रो उत्पादन भएको खण्डमा प्रतिहेक्टर २१ मेट्रिकटन सम्म स्याउ उत्पादन हुने ज्ञान केन्द्र मनाङको तथ्याङ्कले देखाउँछ । 

समुद्री सतहबाट १८ सय मिटरमाथि राम्रो फल्ने यस प्रविधिको स्याउ स्वादिलो र माग समेत उच्च रहेकाले यसतर्फ किसानहरुको आकर्षण बढेको हो । मनाङमा उत्पादित स्याउ लमजुङको बेसीसहर हुँदै पोखरा, चितवन, काठमाडौं देखी बिदेशी  बजारसम्म बिक्री हुने गरेको छ । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update