TagaroNews
लमजुङको दोर्दी खोला कोरिडोरमा जोडियो १२६ मेगावाट विद्युत

बेसीशहर – लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत प्रवाह गर्नका लागि निर्माण गरिएको १३२ केभी दोर्दी कोरिडोर डबल सर्किट प्रसारण लाइन आयोजनामा १२६.८४ मेगावाट विद्युत जोडिएको छ । लाइनमा त्यस क्षेत्रमा निर्माण सम्पन्न भएका आयोजनाको विद्युत जोडिएका हुन् ।

दोर्दी कोरिडोर क्षेत्रमा निर्माण सम्पन्न भएका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभाव कारण खेर जाने अवस्थामा रहेपनि गत भदौबाट लाइन सञ्चालनमा आएसँगै उत्पादित विद्युत धमाधम जोडिन थालेको आयोजना प्रमुख रमेश पौडेलले बताए । ‘हालसम्म दोर्दी खोलामा निर्माण सम्पन्न भएको ४ आयोजनाको ११८.१ मेगावाट र चेपे खोलामा निर्माण सम्पन्न भएको ८.८३ मेगावाट विद्युत जोडिएको छ,’ उनले भने ।

यस कोरिडोरमा सबैभन्दा ठूलो पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरेको सुपर दोर्दी ‘ख’ को ५४ मेगावाट विद्युत जोडिएको छ । यसैगरी, हिमालयन पावर पार्टनरले निर्माण गरेको दोर्दी खोलाको २७ मेगावाट, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को २५ मेगावाट र दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गरेको दोर्दी–१ जलविद्युत आयोजनाको १२.१ मेगावाट विद्युत प्रणालीमा जोडिएको छ । यसैगरी, चेपेखोलामा निर्माण सम्पन्न ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजनाको विद्युत जोडिएको पौडेलले बताए ।

सुपर दोर्दी ‘ख’ को विद्युत  बैशाख २३ गते प्रणालीमा जोडिएको हो । आयोजनाले गत महिनाबाट मात्र व्यावसायिक उत्पादन गरेको छ । २०७१ मा विद्युत खरिद सम्झौता (पिपिए) गरी आयोजना निर्माण २०७२ असोज महिनाबाट सुरु भएको आयोजनाका निर्देशक अर्जुनप्रसाद गौतमले बताए ।

२०७५ मा निर्माण सम्पन्न गर्दै आयोजनाबाट बिजुली उत्पादन गर्ने भनिए पनि निर्माण अवधि लम्बिदै आएको छ । सुरुवातमा ८ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना १० अर्ब ५० करोड रुपैयाँमा सम्मन्न भएको बताइएको छ ।

दोर्दी खोला र दोर्दी–१ को विद्युत असोज १४ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएर व्यावसायिक उत्पादन गर्दै आएका छन् । माथिल्लो दोर्दी-ए ले मंसिर १७ गतेदेखि र चेपे खोला स्ममको विद्युत असोज १६ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेका थिए ।

२०७७ मै निर्माण सम्पन्न भएको प्रसारण लाइनका ४ वटा टावरहरू २०७८ को असारमा असारमा दोर्दी खोलामा आएको बाढीले बगाइदिएको थियो । बाढीले क्षति पुर्याएका टावरहरूको पुनर्निर्माणमा केही समय लाग्ने देखिएपछि त्यस क्षेत्रमा सम्पन्न भएको आयोजनाको विद्युत लाइनको आंशिक खण्ड सञ्चालन गरी प्रणाली जोडिएको थियो ।

बाढीले क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणपछि लाइन २०७९ चैत २३ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आएसँगै करिब ३०० मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update