TagaroNews
अब केबलकारमा बन्दीपुर
बन्दीपुरमा निर्माण अन्तिम चरणमा रहेको केबलकार ।

तनहुँ -  'पहाडकी रानी' नामले परिचित पर्यटकीय आकर्षणको केन्द्र रहेको तनहुँको बन्दीपुरमा अब केबलकार मार्फत पुग्न सकिने भएको छ । 

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले अत्याधुनिक होटलसहितको केबलकार निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । केबलकारमा आवश्यक सम्पूर्ण मेकानिकल सामग्री जडान गरिसकिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जनाए । मेकानिकल सामग्री जडानसँगै पहिलो चरणमा रोपको परीक्षण र दोस्रो चरणमा गोन्डोला (केबलकारको डिब्बा) मार्फत सामान बोकेर लोड परीक्षण गरिसकिएको छ ।

आइतबारदेखि मानिस बोकेर तेस्रो चरणको परीक्षण गरिने अध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार यो अन्तिम चरणको परीक्षणपछि अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र, टीयूभी प्रमाणपत्र र अन्य सबै खालका सुरक्षा एवं सम्पन्नतासम्बन्धी प्रमाणपत्र प्राप्त भएसँगै केबलकार व्यावसायिक रूपमा सञ्चालन हुनेछ । 

एकदेखि डेढ महिनाभित्र व्यावसायिक रूपमा केबलकार सञ्चालन गर्ने कम्पनीको तयारी छ ।  कम्पनीले केबलकारमा ३१ वटा डिब्बा सञ्चालनमा ल्याउने भएको छ । यसमा २१ वटा डिब्बा मानिस बोक्न, २ वटा सामग्री ओसार्न, ६ वटा रेस्टुरेन्ट सञ्चालन गर्न र २ वटा एड्भेन्चरका लागि प्रयोग गरिने छ । एड्भेन्चरका लागि प्रयोग गरिएका डिब्बामा बस्न सिट नहुने र रेस्टुरेन्ट डिब्बामा साँझ ५ देखि राति ११ बजेसम्म रेस्ट्रो सञ्चालन गरिनेछ । 

प्रतिघण्टा ५ सय यात्रु बोक्ने क्षमता रहेको केबलकार बिहान ६ देखि राति ११ बजेसम्म सञ्चालनमा ल्याउने बताइएको छ । पृथ्वी राजमार्गको केबलकार चोकदेखि बन्दीपुरसम्मको दूरी १ हजार ७ सय मिटर छ ।

बटमस्टेसन ठूलो ढुंगाबाट चढेका मानिस बरालथोकस्थित ५ तारे होटलको १७ औं तलामा उत्रिन्छन् । होटलमै सुविधासम्पन्न रेस्टुराँ र सानदार, आरामदायी कोठाको पनि व्यवस्था रहेको कम्पनीका कार्यकारी निर्देशक किरण पोख्रेलले बताए । उनका अनुसार होटलको काम समेत ९५ प्रतिशत सकिएको छ । 

पाँचतारे होटलमा ८२ वटा कोठा छन् । केबलकारको बटम स्टेसनमा आकर्षक बगैंचा र टुरिस्ट कोर्ट रेस्टुरेन्ट सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ । कम्पनीका अनुसार यसले बन्दीपुरको पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ । 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update