TagaroNews
१३९.२ मेगावाट तल्लो मनाङ मर्स्याङदी निर्माणको तयारीमा, पिपिए दर निर्धारण गरिदै

मनाङ - विद्युत नियमन आयोगले मनाङमा निर्माणको तयारीमा रहेको तल्लो मनाङ मर्स्याङदी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) दर निर्धारण गर्ने भएको छ । 

बुटवल पावर कम्पनी लिमिटेडले मनाङ जिल्लाको नासों गाउँपालिका साविक ताचैवगरछाप, थोचे र धारापानीमा अघि बढाएको १३९.२ मेगावाटको मनाङ मर्स्याङदीको पिपिए दर निर्धारण गर्न लागेको हो । आयोजनाको पिपिए दर निर्धारण गर्न असार १८ गते (सोमबार) सार्वजनिक सुनुवाई गर्न लागेको आयोगले जनाएको छ ।

आयोगका अनुसार आयोजनाको पिपिए भएपछि निर्माण सुरु हुनेछ । मनाङ मर्स्याङदीको काम सम्पन्न गर्न २७८.४८ मिलियन अमेरिकन डलर लागत अनुमान गरिएको छ । यो आयोजना कुल ७९०.२७० गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । वर्षायाममा ५५ करोड २६ लाख ६९ हजार ६ सय ९३ किलोवाट र सुख्खायाममा २३ करोड ७६ लाख ६ सय १६ किलोवाट घण्टा विद्युत उत्पादन हुनेछ ।

नेपाल विद्युत प्राधिकरणले आयोग समक्ष आयोजनाको पिपिए दर निर्धारणका लागि निवेदन पेस गरेको थियो । सोही निवेदन उपर छलफल गरी पिपिए दर निर्धारण गर्न लागिएको हो । उपभोक्ता, उद्यमी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमुलक संस्थाहरू, सञ्चार माध्यम, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी हुन निगमले आग्रह गरेको छ ।

सरोकारवालाहरुरूले आयोगको कार्यालयमा लिखित रुपमा समेत आफ्ना राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न सक्नेछन् । सार्वजनिक सुनुवाई असार १८ गते (सोमबार) सानो गौचरणस्थित विद्युत विकास विभागको सभाहलमा हुनेछ ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update