TagaroNews
लमजुङमा भेटियो दुर्लभ जनावर सालक 

बेसीशहर –  लमजुङमा दुर्लभ स्तनधारी जनावर सालक भेटिएको छ । पूर्वी लमजुङ स्थित राइनास नपा –९ मोहोरियाकोटमा आइतबार दिउँसो सालक भेटिएपछि स्थानीयले सव डिभिजन वन कार्यालय धमिलिकुवालाई खबर गरेका थिए ।

लोपोन्मुख जातिभित्र पर्ने तामे जातको सालक घाइते अवस्थामा उद्दार गरिएको सव डिभिजन वन कार्यालय धमिलिकुवाका वन रक्षक ओमप्रकाश घर्तीले बताए । उनका अनुसार मोहोरियाकोटका जगत भुजेलको घरमा सालक भेटिएको खवर प्राप्त भएपछि उद्दार गरिएको थियो । 

घाइते सालकलाई सव डिभिजन वन कार्यालयमा सामान्य उपचार पश्चात आइतबार साँझ नजिकैको जंगलमा सुरक्षित तबरले छोडिएको जनाइएको छ । 

भुजेलले पालेको घरपालुवा कुकुरले सालक लिएर आएको र देख्नेवित्तिकै डिभिजन वन कार्यालयमा खवर गरिएको स्थानीय बताउँछन् ।

घाइते अवस्थामा उद्दार गरिएको सालकलाई साँझको समयमा वनमा छोड्न निर्देशन दिइएको र सोही अनुसार नजिकैको जंगलमा छोडिएको डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले बताए ।

संसारमा आठ प्रकारका सालक पाइने गरेको अनुसन्धानले देखाएका छन् । नेपालमा भने दुई प्रकारका सालकमात्र पाइन्छन् । नेपालमा कालो खबटा भएको ‘चिनियाँ प्याङ्गोलियन’ र फुस्रो खबटा भएको ‘भारतीय प्याङ्गोलियन’ अस्तित्वमा छन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार नेपालमा सालक संरक्षित वन्यजन्तु हो ।यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले रातो सूचीमा राखेको छ । सेतो सालक भनेरसमेत चिनिने तामे सालक विश्वमै दुर्लभ मानिने गरेको संरक्षणकर्मी बताउँछन् । 

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीको मध्य पहाडसम्म सालक पाइन्छन् । खबटाको अवैध व्यापार र मासुका लागि सालकको चोरी सिकार हुने गरेको बताइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update